हेटौँडा । बागमती प्रदेशको प्रदेश प्रदेश सभाको चौथो अधिवेशन वैशाख ३१ गते बोलाउन दल सहमत भएका छन्।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेश सभा सचिवालय, हेटौँडामा शुक्रबार बसेको सर्वदलीय बैठकमा दलहरुबिच बजेट अधिवेशनको रुपमा रहने चौथो अधिवेशन वैशाख ३१ गते बोलाउने बारेमा सहमति भएको हो।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले बैठकमा प्रदेशको अधिवेशन यही वैशाख ३१ गते सोमबार बोलाउने गरी सहमति भएको जानकारी दिए ।

बैठकमा प्रदेश सरकारको आगामी आवको बजेटका प्राथमिकता र सिद्धान्त आगामी जेठ १ गते प्रदेश सरकारले ल्याउने गरी सहमति भएको भन्दै उहाँले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम जेठ १५ गते प्रदेश सभा पेस गर्ने गरी सहमति भएको बताए ।

उता प्रदेश सभा अन्तर्गतका समितिको सभापति चयनका बारेमा बैठकमा छलफल भए पनि दलहरुबिच सहमति बन्न सकेन।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा तामाङले समिति सभापति चयन नहुँदा समस्या भएको बारेमा छलफल भए पनि सहमति जुट्न नसकेको बताए ।

उहाँले आगामी जेठ २ गतेभित्रमा सहमतिमा समिति सभापति चयन नभएमा ४ गतेभित्रमा निर्वाचन प्रक्रियामा गएर भए पनि टुङ्गो लगाउने बारेमा छलफल भएको बताए ।

प्रदेश सभामा पाँच वटा समिति छन्।दलहरुबिच भागबण्डा नमिल्दा प्रदेश सभा गठन भएको डेढ वर्ष भइसक्दासमेत सभापति चयनमा सहमति जुट्न सकेको छैन।बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मन्त्री, उपसभामुख, प्रदेश सभा प्रतिनिधित्व गर्ने दलका नेताहरु र सचेतकलगायतका उपस्थिति रहेको थियो ।