हेटौँडा । बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेश युवा सम्मेलनको तयारी पूरा भएको छ । आगामी शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म सञ्चालन हुने प्रदेश युवा सम्मेलनमा २ सय युवा सहभागी हुने भएका छन् । प्रदेश युवा परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरेर तयारी पूरा भएको जानकारी दिएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले गत वर्षको सफलताको जगमा रहेर यो वर्ष तीन दिने प्रदेश युवा सम्मेलनको तयारी गरिएको जानकारी दिए।

प्रदेशका १ सय १९ पालिकामध्ये ८९ वटा पालिकाबाट २०० युवा छनोट भएको चौलागाईले जानकारी दिए । सम्मेलनमा सहभागीहरुले अनलाइनमार्फत मात्रै आवेदन दिने व्यवस्था मिलाइएको थियो । सम्मेलनमा सहभागी हुन चाहने ५३७ जनाले अनलाइनमार्फत आवेदन दिएका मध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको छ ।

परिषद्को वार्षिक कार्यक्रमको रुपमा प्रदेशका युवाको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्न सम्मेलनको आयोजना गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईले स्पष्ट पार्नुभएको छ । सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरिने बताइएको छ ।

सम्मेलनमा सहभागी हुन चाहने युवा उद्यमशील, नवप्रवर्तन, विभिन्न पेशा, व्यवसायमा स्थापित भएको भए राम्रो हुने अपेक्षा गरिएको र सम्मेलनमा सहभागी युवाले नै आफ्नो समाज र मुलुकमा केही गर्न सकिन्छ भन्ने बुझाउन सकोस्, आपसमा ज्ञान, सीप आदानप्रदान गर्न सकोस् भन्ने अपेक्षा गरिएको कार्यकारी उपाध्यक्षको भनाइ छ ।