हेटौँडा । ७० वर्षीय सोमबहादुर परियार बेसहारा भएर लामो समय सडकको बास बसे । उनको दिन रात सडक किनारामै बित्यो । बेवारिसे जिन्दगी उनको पहिचान जस्तै भयो । मानसिक सन्तुलन ठिक नहुँदा झनक्क रिसाउने उनको स्वभाव थियो । शरीरभरि फोहरै फोहर बोकेर सडकमा कष्टकर जीवन बिताइरहेका परियारलाई चितवनबाट एक महिनाअघि उद्धार गरेर मानव सेवा आश्रम हेटौँडा ल्याइयो ।
इजरायलमा केयर गिभर काममा गएर २०६६ सालमा नेपाल फर्कनु भएकी जानकी गजुरेल महर्जन आफ्नी छोरी र श्रीमान गुमाएपछि विक्षिप्त भइन् । २० बर्सकी छोरी ब्रेन ट्युमर र क्यान्सरले श्रीमान् गुमाएपछि काठमाडौँ बालाजु बस्दै आउनुभएकी महर्जन डिप्रेसनको सिकार बनिन् । उनलाई करिव पाँच वर्षअघि उद्धार गरेर हेटौँडा ल्याइएको हो । अहिले उहाँ नियमित औषधि खाइरहेकी छिन भने उनको स्थितिमा सुधार आएको छ ।
लागूऔषधको कुलतमा फसेर मनोरोगी भएका हेटौँडाका गोपाल सापकोटा घर तथा वरपर नाङ्गै हिड्ने गर्न थालेपछी समस्या भएको थियो । असामाजिक व्यवहार देखाउन थालेपछी सापकोटालाई घरपरिवारले कोठामै थुनेर राख्न बाध्य भयो । मानसिक सन्तुलन ठिक नभएपछि परिवारको सहकार्यमा उनको उद्धार गरी मानव सेवा आश्रममा नियमित उपचार र औषधिको व्यवस्था मिलाएसँगै उनको दिनचर्या र जीवनशैलीमा परिवर्तन आएको छ, अहिले ।
उनीहरु जस्तै विविध कारणले सडकमा जीवन बिताउन बाध्य भएका दश हजार भन्दा बढीको अहिले साझा थलो बनेको छ, मानव सेवा आश्रम । आश्रममा रहेका आश्रितहरुले दिसापिसाब एकै ठाउँमा गरिदिने, ट्वाइलेट पठाउँदा भित्रै चुक्कल लगाएर बसिदिने जस्ता व्यवहार देखाएपनि आश्रमको माया, प्रेम, सरसफाइ, औषधीसँगै योग, ध्यानले उहाँहरूमा विस्तारै परिवर्तन भएको छ ।
मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि देशव्यापीरूपमा सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ ।
हाल देशभर सात प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्दै आइरहेको छ । आजसम्म एक हजार सात सय बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको यस आश्रमले १० हजार १६ जनाको उद्धार गरिसकेको छ । आश्रममा आश्रित मध्य ७३६ जना महिला र ९७२ जना पुरुष रहनुभएको छ भने उद्धार भएका मध्य तीन हजार ८२४ महिला र छ हजार १९९ पुरुष रहनुभएको छ ।
मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाका अनुसार तीन हजार ९२० सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ । दुइ हजार २०३ पुरुष र एक हजार ७१७ महिलालाइ पारिवारिक पुनर्मिलन गराइएको हो । आश्रम स्थापनाकालदेखि हालसम्म आश्रित मध्य एकहजार २१६ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ८८७ पुरुष र ३९४ जना महिला रहेका छन । तीन हजार ३८१ जनाले स्वच्छिक रुपमा आश्रम छाड्नुभएको छ भने ८४० जना समुदायमा पुर्न स्थापित हुनुभएको छ । आश्रमले एक शाखाबाट अर्को शाखामा एकहजार ३६० जनालाई स्थान्तरण गरेको छ भने अन्य संघसंस्थामा ९ जना स्थान्तरण भए ।
२०७७ सालदेखि २०८१ असार सम्म आश्रमलाई ३४ हजार पटक सहयोग प्राप्त भएको छ । २९ हजार ३४६ जनाले नगद र ८ हजार ८१९ जनाले जिन्सी सहयोग उपलब्ध गराए । कोशी प्रदेशमा १५५ जना आश्रित रहेका छन, यहा झापा स्थित मेचिनगर, मोरङको बिराटनगर मार्फत सेवा प्रदान गरिएको हो । मधेश प्रदेशमा १५० जना आश्रित रहनुभएको छ, यहाँ धनुषाको जनकपुर, पर्साको विरगंज र सर्लाहीको हरिवन मार्फत सेवा दिइदै आएको छ ।
त्यस्तै बागमती प्रदेशमा ६५८ जना आश्रित रहेका छन । मकवानपुरको हेटौँडा, चितवनको भरतपुर, काठमाडौँको सामाखुसी र रानीवन, भक्तपुरको कौशलटार र ललितपुरको नागदहमा सेवा दिइदै आएको छ । गण्डकी प्रदेशमा ३२३ जना आश्रित रहनुभएको छ । गोरखाको ठुलो आँगन, लमजुङको वेशी शहर, बागलुङको बागलुङ बजार, कास्कीको छोरेपाटन र हेम्जामा सेवा दिइदै आएको छ ।
त्यस्तै लुम्बीनि प्रदेशमा २७३ जना आश्रित रहेका छन । रुपन्देहीको बुटबल, तिलोत्तमा, दाङको तुलसीपुर र बाँकेको नेपालगञ्जबाट सेवा दिइएको हो । कर्णाली प्रदेशको सुर्खेतको विरेन्द्र नगरबाट ७६ जना र सुदुरपश्चिम प्रदेश स्थित कैलालीको धनगढीबाट ६१ जनालाई आश्रय दिइएको हो । उद्दार गरिएका मध्य ०–५ बर्ष उमेर समूहका १३४ जना, ६–१७ बर्ष उमेर समूहका ४२६ जना, १८–३९ बर्ष उमेर समुहका ३ हजार ३१७ जना, ४०–५९ बर्ष उमेर समूहका ३ हजार ३६० र ६० बर्षभन्दा माथिका २ हजार ७७७ जना रहेको मानव सेवा आश्रमको तथ्याङ्क छ ।
मानव सेवा आश्रमले हेटौँडा र गोरखामा बालबालिका सेवा केन्द्र पनि सञ्चालन गरेको छ । आश्रमले हेटौँडामा २५ जना र गोरखामा ३७ जना बालबालिकालाई सेवा दिदै आएको छ । मनोरोगी, पारिवारीक बेमेल, कुलत, गलत खानपान, दुव्र्यसनी, गरिबी र बेरोजगारीका कारण मानिसहरु सडकमा पुग्ने गरेको तथ्य छ । जसमध्य सडकमा कुल्ली कवाडी टिप्ने, मागेर खाने, बोल्न नसक्ने लगायतका उद्दारका क्रममा भेटिएका छन । उद्धार गरेर ल्याइएकाहरुमा बिशेषगरी धेरैजसो मनोरोगी, मुटु, कलेजो, किड्नी, सुगर, प्रेसर, सुगर लगायतकाका समस्या धेरै देखिएको हो ।
मानव सेवा आश्रमले उद्दार, आश्रितलाई सेवा दिनका लागि करिव २५० जना अभियान्ताहरु परिचालन गरेको जनाएको छ । उद्धार गरिएका मध्य नेपाली मात्रै नभई अमेरिकी, भारती, बंगाली नागरिक समेतलाई पारिवारीक पुनः मिलन गराइएको छ ।
संघ, प्रदेश र स्थानीय तहको ३५ प्रतिशत सहयोग र जन्म दिन मनाउने, विवाह बर्षगाठ, पितृको सम्झना, संघसंस्थाको स्थापना दिवस, जागरि सुरुवात, पास भएको खुसीयाली, वर्तमान, चुडाकर्म, चौराशी पुजा र विदेशमा रहेका नेपालीहरुको सहयोगमा आश्रम सञ्चालन भएको छ । आश्रम दाता र सरकारी सहयोगबाट चल्दै आएको हो । आश्रमले उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा ध्यान दिंदै आएको आश्रमका संस्थाका कोषाध्यक्ष तिमिल्सिनाले बताए ।
मानव सेवा आश्रमले घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको उचित संरक्षण र पालनपोषण गर्दै आएको छ ।












प्रतिक्रिया दिनुहोस्