हेटौँडा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन ।
बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीवार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारका विभिन्न राष्ट्रमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवाको भूमिका अतुलनीय रहेको स्पष्ट पारे ।
देशमा रहेका युवा शक्तिलाई ठिक ढङ्गले प्रयोग गर्नुपर्ने बताउँदै उनले चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्तिको आवश्यकता रहेको औँल्याए । गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा दायित्व बोकेको बताउँदै सभामुख घिमिरेले अपेक्षाकृत रूपमा सरकारले काम गर्न नसकेको स्वीकार गरे।
उनले प्रसङ्ग जोड्दै सङ्घीयताका कारण आर्थिक भार बढेको भन्ने नकारात्मक टीकाटिप्पणी भइरहेको सन्दर्भमा सरकारमा भएको परिवर्तनले संविधान संशोधन गरेर राष्ट्रलाई अघि लैजाने विषय उठेको बताए।
कार्यक्रममा नेकपा (एमाले) का मुख्य सचेतक तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्ताैलाले वैदेशिक रोजगारीका कारण देशका धेरै विश्वविद्यालय, कलेज खाली हुँदै जाने खतरा बढेकोमा चिन्ता व्यक्त गरे । उनले युवालाई सीप सिकाउँदै स्वरोजगार र रोजगारी प्रदान गरेर युवालाई स्वदेशमै टिकाउनु अपरिहार्य रहेको बताए।
सरकारले न्यूनतम साझा कार्यक्रममार्फत नेपालका युवालाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्नेगरी सीपयुक्त बनाउने कार्यक्रम ल्याउने तयारी गरेको उनले जानकारी दिए। एमाले–काँग्रेस सरकारलाई असफल हुने छुट कदापी नरहेको बताउँदै उनले जनताको पिरमर्का सम्बोधन गर्नेगरी अहिलेको सरकारले काम गर्नुपर्ने तर्क गरे ।
ब्युटिसियन तालिम लिनुभएकी विष्णुकुमारी परियारले प्रदेश युवा परिषद्ले सीप सिकाउँदै काम गरेर बाँच्न सक्ने बाटो देखाइदिएको बताउँदै थप एडभान्स तालिमको पनि आवश्यकता रहेको बताइन्। हेटौँडामा चितवन, मकवानपुर र सिन्धुलीमा सञ्चालन गरिएको तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
बागमती प्रदेश युवा परिषद् कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०८०–८१ मा टेलरिङ्, फेसन डिजाइनर, ब्युटिसियन, मन्टेश्वरी, कुक, बारिष्ठा, वेटर–वेट्रेस, डकर्मी, सिकर्मी, बिल्डिङ इलेक्ट्रिसियन, प्लम्बिङ, मोटरसाइकल मर्मतलगायतका २१ प्रकारका आधारभूत तालिम प्रदान गरेको थियो । परिषद्ले प्रदेशका १३ वटै जिल्लामा करिब चार हजार पाँचसय जनालाई तालिम प्रदान गरेको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्