हेटौँडा । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत रहेको वनस्पति अनुसन्धान केन्द्र, वृन्दावन वनस्पति उद्यान मकवानपुर शैक्षिक र मनोरञ्जन केन्द्रको रुपमा विकसित हुँदै गएको छ । गत आर्थिक वर्षमा देशभरका करिव १५० क्याम्पस तथा विद्यालयका विद्यार्थीहरूले केन्द्रमा वनस्पतिका प्रजाति, महत्व, विकास लगायतका विषयमा अवलोकन भ्रमण गरेका छन ।

वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्र्तगत रहेका वृन्दावन वनस्पति उद्यान हेटौँडा र पर्वतीय वनस्पति उद्यान दामनमा छ हजार ९०८ जना विद्यार्थीले अवलोकन गरेका हुन । पछिल्लो तथ्याङ्क अनुसार यहाँ आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । चालु आवको साउनमा मात्रै दुई क्याम्पस र एक विद्यालयका १७८ विद्यार्थीले उद्यानको भ्रमण गरे । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका २८, स्काई राइडर सेकेन्डरी इङ्लिस बोडिङ्ग स्कुल चितवनका एकसय जना र प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस उदयपुरका ५० जना विद्यार्थीले केन्द्रमा औषधिजन्य, सुगन्धित जडीबुटी तथा वनस्पतिबारे अध्ययन र जानकारी हासिल गर्न पुगेका थिए ।

जडीबुटी र वनस्पति, सुगन्धित तेल प्रशोधन लगायतका विषयमा केन्द्रका कार्यालय प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए । विभिन्न विषयका विद्यार्थी वनस्पति अनुसन्धान केन्द्रमा ज्ञान हासिल गर्न पुग्ने गरेका छन । वन विज्ञान (फरेस्ट्री), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण, अध्ययन र घुम्नका लागि आउने गरेको उहाँको भनाइ छ । वनस्पति उद्यान, नमुना संरक्षण, जीवित बिरुवा र विभिन्न नमुना सूचना केन्द्रमार्फत विद्यार्थीलाई जानकारी उपलब्ध गराउने गरेको उनले बताए ।

यहाँ आउने विद्यार्थीलाई बिरुवा पहिचान गर्न, बिरुवाको वैज्ञानिक नाम र वनस्पतिसम्बन्धी जानकारी प्रदान गर्न सहजीकरण गर्ने गरेको उनको भनाइ छ । “वनस्पति अनुसन्धान केन्द्र शैक्षिक र मनोरञ्जनको केन्द्र बन्दै गएको छ, पछिल्लो समय चितवन, काठमाडौँ र पूर्वका जिल्लाबाट विद्यार्थी वनस्पतिको अध्ययन गर्न र भ्रमणका लागि यहाँ आउने गर्नुभएको छ,” कार्यालय प्रमुख पराजुलीले भने ।

गत आवमा अनुसन्धान केन्द्र भ्रमण गरेबापत ६ लाख ८८ हजार राजस्व पनि सङ्कलन गरिएको छ । वन नियमावली २०७९ को अनुसूची २ बमोजिम शुल्क तोकिएको छ । शैक्षिक अध्ययन र भ्रमणमा आउने विद्यार्थीबाट प्रतिव्यक्ति दस रुपियाँ शुल्क लिने गरिएको छ । त्यस्तै १० वर्षमूनिकालाई १५ रुपियाँ र १० वर्षमाथिका २५ रुपियाँ भ्रमण शुल्क निर्धारण गरिएको हो । चलचित्र, म्युजिक भिडियो र विवाहको फोटोसुटका लागि पाँचसय रुपियाँ शुल्क तोकिएको छ । यहाँ विद्यार्थी सहित पारिवारिक भ्रमण, सहकारी, समूह र स्थानीय अवलोकनका लागि आउने गर्नुभएको छ ।कार्यालय प्रमुख पराजुलीका अनुसार मकवानपुर, काठमाडौँ, चितवन, इलाम, महोत्तरी, जुम्ला, दाङ, पोखरा, नवलपरासी, रूपन्देही, भैरवा लगायतका स्थानबाट यहाँ आउने गरेका छन ।

लोप हुँदै गएको, मासिएको बिरुवाका साथै यहाँ उनिउँको पनि संरक्षण एवम् अनुसन्धान गरिएकाले यहाँ आउने विद्यार्थी यसबारे जान्न थप उत्सुक हुनेगरेका छन । पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारणले पनि उद्यान शैक्षिक र मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । वनस्पति अनुसन्धान केन्द्रले मकवानपुरका विद्यार्थीलाई जडीबुटी पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ । यहाँको स्थानीयस्तरमा पनि वृन्दावनको कारण सकारात्मक प्रभाव परेको छ । यहाँ भ्रमण, अवलोकनमा आउनेहरुका कारण स्थानीयस्तरमा व्यापार पनि बढेको हो ।