हेटौँडा । हेटौँडा उपमहानगरपालिका १७ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकमध्ये ४८ वटा सूचक सतप्रतिशत पूरा भएसँगै वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनमुक्त वडा घोषणा गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
५१ वटा सूचकहरुमध्ये ४८ वटा सूचकमा सतप्रतिशत, एउटा सूचकमा ९८ प्रतिशत, अर्को सूचकमा ८१ प्रतिशत र अर्को एक सूकमा ८० प्रतिशतसम्म नतिजा हासिल भइसकेको जानकारी दिँदै आगामी भदौ ७ गते एक कार्यक्रमकाबीच बालमैत्री वडा घोषणा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १७ नम्बर वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार एक सय १० जना रहेको छ । जसमा ११३० बालक र ९८० बालिका रहेका छन् । कुल बालबालिकामध्ये ४६.४५ प्रतिशत बालिका र ५३.५५ प्रतिशत बालक रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी ६ वटा विद्यालयहरु रहेकोमा सबै विद्यालयमा बालमैत्री र अपाङ्गमैत्री संरचना र व्यवहार लागु भइसकेको जनाइएको छ । वडामा २२ वटा बालसमूहरु र एक वडा बाल सञ्जाल रहेकोमा ५५० जना बालवालिकाहरु आवद्ध रहेका छन् ।
बालबालिकाको सुन्दर भविष्य निर्माणमा घरपरिवारको प्रमुख भुमिका रहेता पनि वडाको पनि ठुलो जिम्मेवारी र दायित्व हुने भन्दै १७ नम्बर वडाध्यक्ष उद्धव सत्यालले बालबालिकाको क्षेत्रमा वडाले लगानी गरिरहेको बताए । बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । भदौ ७ गते वडा कार्यालयको प्राङ्गणबाट बिहान १० बजे प्रभातफेरी सहित वडा परिक्रमा पश्चात नेपाल चौर टोल विकासको फुटसल हलमा बालमैत्री वडा घोषणा कार्यक्रम समारोह राखिएको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्