हेटाैँडा । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा ४ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले ४ भदौमा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले गाईजात्रा प्रदेशमा मनाइने महत्त्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।

ऐनअनुसार गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था रहेको उनको भनाइ छ। मन्त्री लामिछानेका अनुसार उक्त निर्णयसँगै बागमती प्रदेशमा ४ भदौमा गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरू बन्द रहनेछन्।

यसैबीच शुक्रबारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

लामिछाने गत १२ साउनमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका थिए। आन्तरिक मामिला मन्त्रालयअन्तर्गत सञ्चार विभागसमेत रहेकाले मन्त्री लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।