हेटौँडा । मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसको मकवानपुरमा बिरामी बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन एकदेखि भदौ छ गतेसम्म जिल्लामा ४८ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।
महिला २८ र पुरुष २० जनामा स्क्रब टाइफस देखिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए। स्क्रब टाइफसको सङ्क्रमण महिलाहरूमा बढी देखिएको छ । महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा सेउला सोत्तर गर्ने हुँदा बढी जोखिममा रहेकाले सरसफाइमा विशेष ध्यान दिन सूचना अधिकारी घिमिरेले अनुरोध गरे। गत वर्षहरूमा पनि स्क्रब टाइफस देखिएपनि तथ्याङ्क भने सार्वजनिक भएको थिएन ।
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
त्यस्तै चालु आवको भदौ छ गतेसम्म मकवानपुरमा डेङ्गुका बिरामी १३० जना पुगेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी दिनहुँ थपिदै गएको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पुरुष ६० र महिला ७० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ ४१ पुरुष र ५३ महिलागरी ९४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । त्यस्तै मनहरी गाउँपालिकामा १५ जना, मकवानपुरगढी ७, बकैया गाउँपालिकामा ५, भीमफेदी गाउँपालिकामा ३ जनामा डेङ्गु पुष्टि भएको हो । बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक एक जनामा डेङ्गु पुष्टि भएको हो ।
अन्य जिल्लाका ३ जना र ठेगाना नखुलेको एक जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्र सरोवर, राक्सिराङ गाउँपालिकामा र उत्तरी क्षेत्र थाहा नगरपालिकामा साउनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । गत आवमा जिल्लामा ८९१ जनामा डेङ्गु पुष्टि भएको थियो । गाेरखापत्रबाट साभार












प्रतिक्रिया दिनुहोस्