हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा स्थित एक होटलमा युवतीको हत्या भएको छ । हेटौँडा–१०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटलमा हेटौँडा–११ निवासी २३ वर्षीया एलिसा न्यौपाने हत्या भएको हो ।

आइतबार साँझ ५ बजेको समयमा होटलमा युवक र युवती दुईजना पुगेका थिए । सोमबार बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालक नवीन रानामगरले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेर उनीहरुको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सँगै आएका युवकले न्यौपानेको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको उनको भनाइ छ ।

हेटौँडा–१० का वडाअध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार आइतबार साँझै हत्या गरेर युवक निक्सिएको देखिन्छ । साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र आइतबार साँझ ७ बजेर ५९ मिनेटको समयमा युवक होटलबाट निक्सिएको दृश्य सीसी क्यामेरामा कैद भएको वडा अध्यक्ष लामाको भनाइ छ ।

सोमबार बिहान ढोका खोलेर हेर्दा मृतक युवतीको आँखामा चोट लागेको, कोठा रक्ताम्य भएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको छ ।