हेटौँडा । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको आएको मानव सेवा आश्रमले स्थापनाकालदेखि हालसम्म दश हजार बढीको उद्धार गरेको छ । २०६९ सालदेखि देशव्यापीरूपमा सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश दश हजार २६६ मानवहरूको उद्धार गरेको हो ।
आश्रमले तीन हजार ९३० जना महिला र छ हजार ३३६ जना पुरुषको उद्धार गरेको छ । मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित काम गर्दै आइरहेको आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । हाल देशभर सात प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालन गरेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्दै आइरहेको छ ।
आजसम्म एक हजार ७१६ बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको छ । आश्रममा आश्रित मध्य ७३२ जना महिला र ९८४ जना पुरुष रहेको मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी दिए । आश्रमका चार हजार ५५ जनालाई सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ । दुइ हजार २६३ पुरुष र एक हजार ७९२ महिलालाई पारिवारिक पुनर्मिलन गराइएको हो । आश्रम स्थापनाकालदेखि हालसम्म आश्रित मध्य एकहजार ३११ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ९०६ पुरुष र ४०४ जना महिला रहनुभएको छ ।
मानव सेवा आश्रमले हेटौँडा र गोरखामा बालबालिका सेवा केन्द्र पनि सञ्चालन गरेको छ । आश्रमले हेटौँडामा २५ जना र गोरखामा ३७ जना बालबालिकालाई सेवा दिदैँ आएको छ । मनोरोगी, पारिवारीक बेमेल, कुलत, गलत खानपान, दुर्व्यसनी, गरिबी र बेरोजगारीका कारण मानिसहरु सडकमा पुग्ने गरेको तथ्य छ । जसमध्ये सडकमा कुल्ली कवाडी टिप्ने, मागेर खाने, बोल्न नसक्ने लगायतका उद्धारका क्रममा भेटिएका छन । उद्धार गरेर ल्याइएकाहरूमा विशेषगरी धेरैजसो मनोरोगी, मुटु, कलेजो, किड्नी, सुगर, प्रेसर, सुगर लगायतकाका समस्या धेरै देखिएको हो । मानव सेवा आश्रमले उद्दार, आश्रितलाई सेवा दिनका लागि करिव २५० जना अभियन्ताहरू परिचालन गरेको जनाएको छ ।
उद्धार गरिएका मध्य नेपाली मात्रै नभई अमेरिकी, भारती, बंगाली नागरिक समेतलाई पारिवारीक पुनः मिलन गराइएको छ । संघ, प्रदेश र स्थानीय तहको ३५ प्रतिशत सहयोग र जन्म दिन मनाउने, विवाह वर्षगाँठमा, पितृको सम्झना, सङ्घसंस्थाको स्थापना दिवस, जागरि सुरुवात, पास भएको खुसीयाली, वर्तमान, चुडाकर्म, चौराशी पुजा र विदेशमा रहेका नेपालीहरुको सहयोगमा आश्रम सञ्चालन भएको छ । आश्रम दाता र सरकारी सहयोगबाट चल्दै आएको हो । आश्रमले उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा ध्यान दिंदै आएको आश्रमका संस्थाका कोषाध्यक्ष तिमिल्सिनाले बताए ।
प्रतिक्रिया दिनुहोस्