हेटौँडा । एकान्तकुना–टीकाभैरव हुँदै हेटौँडा जोड्ने गरी बनिरहेको कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाएर आफूहरुलाई सुकुम्बासी बनाउन लागेको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन् ।
लोकपथ हुँदा दायाँबायाँ २२ मिटर मापदण्ड रहेकोमा हाल राष्ट्रिय राजमार्गको हवाला दिँदै ६२ मिटर मापदण्ड कायम भएपछि उनीहरु आन्दोलित बनेका हुन् । सरकारले ०७६ सालमै कान्ति लोक पथलाई राष्ट्रिय राजमार्ग बनाउने निर्णय गरे पनि हालसम्म स्थानीयसँग लुकाएको प्रभावित क्षेत्रका विदुर खड्काले आरोप लगाए । उनीहरुले ०७६ जेठ ६ गते भएको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न पनि माग गरेका छन् ।
‘पहिले हामीलाई केही पनि थाहा थिएन । हेटौंडासँग जोड्ने लोकमार्ग हो भनियो । तर, अहिले केहीले घर बनाउन अनुमति लिन जाँदा नपाएपछि नयाँ मापदण्डबारे खुल्यो’, खड्काले भने, ‘०७६ सालमै निर्णय भएको भनिएको छ । त्यसबेला भएको निर्णय अहिलेसम्म किन लुकाइयो ?’
काठमाडौंलाई तराईसँग जोड्ने गरी विस्तार भइरहेको कान्ति लोकपथलाई निर्माण भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पर्ने एकान्तकुना–टीकाभैरव क्षेत्रमा नयाँ मापदण्ड लागू भए करिब २ हजार परिवार घरबारविहीन हुनुपर्ने खड्काको दाबी छ ।
‘७६ सालभन्दा अगाडि २२ मिटर नै थियो । अहिले सडक विभागले नगरपालिकालाई मापदण्डभित्रको निर्माण कार्य रोक्नू भनेर पत्राचार गरेको रहेछ, नगरपालिकाले पनि अनुमति दिँदैन’, खड्काले भने, ‘पालिकाले अहिले बनिरहेका संरचना पनि रोक लगाइराखेको छ ।’
प्रतिक्रिया दिनुहोस्