हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं ११ लाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी यही असोज १९ गते शनिबार बालमैत्री वडा घोषणा गर्न लागिएको जानकारी दिइएको हो ।
वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक जुना दाहालले बालमैत्री वडा घोषणाको लागि आवश्यक ५१ वटा सुचकहरु मध्ये ४४ वटा सुचकमा शतप्रतिशत र बाँकी सुचकमा ८० प्रतिशत भन्दा माथि नतिजा हासिल गरिसकेको जानकारी दिइन् ।
३ हजार ४ सय १७ बालबालिका रहेको यस वडामा २५ वटा बालसमुह र एउटा वडा बालसंजाल रहेको अध्यक्ष दाहालले जानकारी दिइन् । पूर्ण खोप, पूर्ण साक्षर र खुल्ला दिसामुक्त वडा घोषणा भई बालमैत्री वडा घोषणाको अन्तिम चरणमा आइपुगेको उनले बताए । अध्यक्ष दाहालले घोषणाको दिगोपन कायम गर्न वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको जानकारी दिइन् ।
बालमैत्री वडा घोषणाको लागि चालु आर्थिक वर्षमा ४ लाख बजेट छुट्याएको वडा कार्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा हेटौँडा उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिना थिङ, वडा सदस्यहरु, वडा सचिव जीवन ढुंगेल, ११ नं. वडाका सहजकर्ता कृष्टिना मैनाली लगायताको आतिथ्यता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्