हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन जनालाई सार्वजनिक गरिएको हो ।
प्रहरीले भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक, र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावतलाई स्रोत नखुलेको विदेशी मुद्रासहित पक्राउ गरेको हो । प्रहरीले कुशवाहको साथबाट अमेरिकी डलर बाह्र हजार, पाठकको साथबाट चौध हजार युरो र माण्डावतको साथबाट बिस हजार अमेरिकी डलर बरामद गरेको थियो ।
प्रहरीका अनुसार बरामद भएको विदेशी मुद्राको नेपाली बजार मूल्य अनुसार बैसठ्ठी लाख नब्बे हजार पैतिस रुपियाँ छ । प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरीले आइतबार साँझ विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
हेटौँडा–१ स्थित चौकी टोलको हेटौँडा–भैँसे सडक खण्डमा काठमाण्डौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०७६५ नं. को यात्रुवाहक इभि माइक्रो बसमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको विदेशी मुद्रा बरामद भएको हो ।
बरामद भएको स्रोत नखुलेको विदेशी मुद्रासहित उनीहरूलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय मीन भवन ललितपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।












प्रतिक्रिया दिनुहोस्