हेटौँडा । जलवायु परिवर्तन सम्बन्धि प्रदेशस्तरीय संवाद हुने भएको छ । सोमबार हेटौंडामा जलवायु कार्यको स्थानीयकरणः सार्वजानिक सम्पदा संरक्षण र न्यायमा लैंगिक दृष्टिकोण विषयमा बागमती प्रदेशस्तरीय संवाद कार्यक्रम हुने भएको हो ।

आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै एक्सन एड परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले जलवायु परिवर्तन र यस्ले पारेको असरबारेमा छलफल हुने जानकारी दिएकी हुन ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको उपस्थितीमा संवाद कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । संवाद कार्यक्रममा वन तथा वातावरण मन्त्रीसहित सरोकारवालाहरुको सहभागिता रहने बताइएको छ ।

संघीय सरकारले निर्माण गरेका जलवायु सम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाई, समस्यालाई कसरी समाधान गर्ने लगायतका बिषयमा बृहत छलफल गरिने छ ।

कार्यक्रममा प्रदेशका एक सय भन्दाबढीको सहभागिता रहने जनाइएको छ । वनसँग जोडिएका विभिन्न विज्ञका साथै मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, युवा नेतृत्वहरुको सहभागितामा छलफल कार्यक्रम गरिने बताइएको छ । कार्यक्रममा चितवन सक्रिय महिला प्रतिष्ठान र मकवानपुर महिला समूहको सहकार्यमा आयोजना गरिन लागेको जनाइएको छ । संवाद कार्यक्रम स्थलमा थारु र भोटे समुदायको उत्पादन सहितको स्टल पनि राखिने अनन्त बानियाँले जानकारी दिए ।