हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरूले अङ्गीकार गरेका विशेषताले नेपाली समाज एकतामा बाँधिएको बताउनुभएको छ ।
इसाई धर्मावलम्बीहरूको प्रमुख चार्ड ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले क्रिसमसले नयाँ ऊर्जा र उमङ्ग ल्याउने अपेक्षा गर्नुभएको हो ।
“हाम्रो देश धर्म निरपेक्ष देश हो, सबै धर्मलाई राज्यले एकै समानले हेरेको छ, हाम्रो धार्मिक सहिष्णुता संसारमै उदाहरणका रूपमा रहेको छ,” –प्रदेश प्रमुख देवकोटाले भन्नुभयो । एक अर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्बीले धार्मिक–सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । क्रिसमसको बेला गिर्जाघरमा प्रार्थना गर्ने, घर सजावट गर्ने, उपहार आदानप्रदान गर्ने, साङ्गीतिक कार्यक्रम गर्ने अनि परिवार साथी सङ्गी भेला भएर शुभकामना बाँडेर र खानपिन गरेर रमाइलो र हर्षोल्लासका साथ मनाइन्छ ।












प्रतिक्रिया दिनुहोस्