हेटाैँडा । राष्ट्रिय दलित आयोगले वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले प्रदेश प्रमुख देवकोटालाई भेटेर संविधानको धारा २९४ (३) बमोजिम आयोगको प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदनमा दलितको हक, हित र अधिकार सम्बन्धी व्यवस्था, दलितको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व देखि आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिति र आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था लगायतका विषय समेटिएका छन् ।
प्रवक्ता पुर्कुटीले संविधान र कानूनमार्फत जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, अपराध, बहिष्करण, वञ्चितीकरण र हिंसालाई संवैधानिक र कानूनी रुपमा अन्त्य गर्दै सम्मानित जीवन यापन गर्न सक्षम तुल्याउन सरकारले लिएको नीति तथा तत्परतालाई प्रतिवेदनले समेटेको बताए ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार वाग्मती प्रदेशमा दलितको जनसंख्या ३ लाख ५९ हजार ५ सय ११ जना रहेको छ । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले दलितको सवालमाथि सकारात्मक सन्देश कार्यन्वयनमा ल्याउनको लागि सरकारलाई प्रेरित गर्ने जानकारी गराए ।












प्रतिक्रिया दिनुहोस्