हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ५ स्थित सानोपोखरामा घरको छतबाट लडेर एक जनाको मृत्युभएको छ ।

आफन्तको घरमा आएका चितवन जिल्ला कालिका नगरपालिका ६ खोलेशिमलका वर्ष ६० का गोविन्द अधिकारीको घरको छतबाट लडेर शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सानोपोखरास्थित आफ्नो भिनाजु हरि लामिछानेको घरमा काम विशेषले बिहीबार आएका अधिकारी सोही घरको तीन तलामाथि छतमा गई बसिरहेको अवस्थामा शुक्रबार बिहान ११ बजेको समयमा अचानक छतबाट तल भुइँमा खसी घाइते भएका थिए ।

घाइते अधिकारलाई आफन्तले उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा घाइतेको  टाउकाको अगाडिको भागमा चोट अवस्था गम्भीर भएपछि थप उपचारको लागि चितवन पठाइएकोमा नयाँ मेडिकल कलेज चितवनमा दिउँसो १४ः१० बजे मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।