हेटौँडा । पशुपतिनाथमा रहेको शङ्खमूल र मकवानपुरको थाहा नगरपालिकास्थित त्रिवेणी शङ्खमूल विश्वका प्रमुख तीन शक्तिशाली शङ्खमूल मध्येमा पर्छन् । नेपालमा कयौं शङ्खमूलमध्ये यी दुई शङ्खमूलको पौराणिक महत्वबारे नेपाल महात्मे हिमवत खण्डमा उल्लेख भएको धार्मिक गुरुहरुको दाबी छ । विश्वका तीन प्रमुख शङ्खमूलमा एउटा भारतमा रहेको बताइन्छ ।

धार्मिक शास्त्रअनुसार विश्वको तीन शङ्खमूल मध्ये ऋषेश्वरबाट उत्तर बगेको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगेको संगमस्थल नै विश्वको एक शङ्खमूल गंगा भएको जनविश्वास छ ।

धार्मिक दस्तावेजहरुको आधारमा थाहा नगरपालिका को ३ नम्बर वडाको घट्टेचौरमा अवस्थित त्रिवेणी शङ्खमूल विश्वकै पवित्र स्थल रहेको दाबी गरिएको छ । यसको पौराणिक महत्वलाई संरक्षण र प्रवद्र्धन गर्दै शङ्खमूललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य थाहा नगरपालिकाको छ ।

पहिलो चरणमा थाहा नगरपालिकाले स्थानीय अगुवाहरुको भेला गरेर यसको धार्मिक दस्तावेजमा उल्लेख भएका विषयमा संवाद गरेकोमा दोस्रो पटक थाहा नगरपालिकाको एतिहासिक धार्मिक क्षेत्र भद्रतिर्थ पाण्डुकेश्वर त्रिवेणी शंखमुल नारद तिर्थको महत्व र मोक्ष धामको रुपमा बिस्तारको आवश्यकता सम्बन्धि छलफल तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले थाहा नगरपालिकामा बन्न लागेको बृहत् शंखमुल धामको लागि प्रदेश सरकारले सक्दो आर्थिक तथा नैतिक सहयोगको प्रतिवद्धता जनाए ।

शंखमुलमा आयोजित छलफलमा मुख्यमन्त्री लामाले सबैको हातेमालो भएमात्र निर्माणको काम सम्पन्न हुन सक्ने बताउदै सबैको अपन्त्वबाट मोक्ष धामको निर्माण सम्पन्न गरि थाहा नगरपालिकालाई धार्मिक पर्यटनको रुपमा बिकास गर्न सकिने उल्यख गरे ।

छलफल कार्यक्रममा काठमाडौंस्थित शान्तिधामका मठाधीश १००८ स्वामी चतुर्भुजाचार्य चूडामणि महाराजले त्रिवेणी शङ्खमूलको पौराणिक महत्वबारे बताए । चूडामणि महाराजले धार्मिक ग्रन्थहरुको आधारमा थाहाको शङ्खमूल विश्वकै पवित्र भूमि भएको दाबी गरे । ‘हिमवत खण्डको अध्याय ११२ मा यो शङ्खमूलको विषयमा प्रष्टसँग उल्लेख गरिएको छ, यो नै ठूलो प्रमाण हो,’ उनी भन्छन्, ‘शंखुकर्ण दैत्यले युद्ध गरेर भगवान शंकरबाट वरदान पाएको ठाउँ हो यो । यहाँ देवता र दैत्यबीच ठूलो लडाइँ भएको थियो ।’

भगवान शंकरले वित्रेणी शङ्खमूलको वैभव देखेर नारायणलाई समेत धर्तीमा उतारी युद्धसन्धि भएको उनले दाबी गरे । त्रिवेणी शङ्खमूल भएको ठाउँ पातालगंगा भएको धार्मिक दस्तावेजहरुमा उल्लेख भएको उनको भनाइ छ । थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले शङ्खमूलको प्रमाणित स्रोतको खोजी गर्ने क्रममा मठाधीश श्रीचतुर्भुजाचार्य चूडामणि समक्ष पुगेको बताए ।

गोपालीले त्रिवेणी शङ्खमूलको पूर्वाधारसँगै धार्मिक पर्यटनका हिसाबले विकास गरिने योजना प्रस्तुत गरे । शङ्खमूलसँग धार्मिक महत्व जोडिएको नजिकै रहेका ऐतिहासिक पाण्डुकेश्वर मन्दिर भद्रतीर्थको पनि विकास गरिने गोपालीले उल्लेख गरेका छन् । पौराणिक महत्वअनुसार पालुङको शङ्खमूलको समग्र विकास आवश्यक रहेको र यसलाई तीव्रता दिइने उनी बताउँछन् ।

शङ्खमूलमा मन्दिर, पुष्पबाटिका, किरियापुत्री घर,मोक्ष नारायणको मन्दिर,गौशाला भद्र तिर्थ,एकसय आठ धारा,सहित धर्मशाला लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । शङ्खमूलसँगै रहेको पुरानो सरस्वती मन्दिरको पनि संरक्षण गरिने उनले बताए । ‘यो विश्वको तीन मुख्य शङ्खमूल मध्ये एक हो । शङ्खमूललाई देशकै प्रमुख धार्मिक पर्यटनको दृष्टिकोणले विकास गर्ने योजनामा छौं,’ उपप्रमुख गोपाली भन्छन् ।

थाहाका नगर प्रमुख विष्णुबहादुर विष्टले चूडामणि महाराजले शङ्खमूलको धार्मिक महत्वबारे प्रमाणमा आधारित भएर बताएपछि अगाडि बढ्न सहज भएको बताए । शङ्खमूल बारे आफूले सुनेका कुरा प्रमाणकै रुपमा पाउँदा निर्धक्कताको महसुस भएको विष्टले सुनाए । शङ्खमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न बृहत्तर शङ्खमूल विकास समिति गठन गरेरै अघि बढ्ने उनको योजना छ ।

शंखमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्नका लागि पालिकाको पहलमा केही कामहरु भैरहेको बताउँदै वृहत्तर शङ्खमूल विकास समिति गठन गरेरै अघि बढ्ने बताए । ‘पालिकासंग थोरै बजेट हुन्छ, विकासका काममा छेउ पनि पुग्दैन, त्यसैले मुख्यमन्त्री संग पनि सहयोगको अपेक्षा गरेका छा’ैं, प्रमुख विष्टले भने ‘संघ र प्रदेश सरकारसंग पनि हामी पहल कदमी गर्छौ ।’ पवित्र स्थल शंखमूलको विकासका लागि सरकार र समुदाय सबै एक हुनुपर्ने प्रमुख विष्टको भनाइ थियो ।

शङ्खमूल मात्र नभई धार्मिक हिसाबले थाहा नगरपालिका यसै प्रख्यात छ । यहाँ ऐतिहासिक कर्षश्वर मन्दिर, पाण्डुकेश्वर मन्दिर, इन्द्रायणीमाई, बज्रबाराही माई, स्वचन्द भैरव, पाथीभरा मन्दिर, गोरखनाथधाम प्रमुख धार्मिक क्षेत्र हुन् ।

धार्मिक क्षेत्रले प्रख्यात थाहाले सांस्कृतिक सहरको परिचय पनि बनाएको छ । यहाँ हरेक वर्ष थुप्रै धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको छ । पर्यटकीय दृष्टिकोणले थाहानगर सम्भावना भएको क्षेत्र हो ।

कार्यक्रममा थाहा नगरपालिकाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुखहरु, स्थानीय धार्मिक संघसंस्स्थाका अध्यक्ष तथा प्रतिनीधिहरु र विभिन्न सामुदायिक संघसंस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।