हेटाैँडा । बेमौसमी तरकारी उत्पादनका लागि ख्यातीप्राप्त मकवानपुरको थाहा नगरपालिकाका खेती योग्य जमिनको अधिकांश माटोमा अम्लियपन (पिएच) बढी देखिएको छ ।

थाहा नगरपालिकाको १२ वटै वडाका किसानको माटोको नमुना परीक्षण गर्दा माटोमा अम्लियपन बढी देखिएको हो ।

परीक्षणका क्रममा खेतबारीको माटोमा प्राङ्गारिक पदार्थ र नाइट्रोजनको मात्रा ज्यादै कमी रहेको थाहा नगरपालिका कृषि शाखा प्रमुख सञ्जय तिवारीले बताए । ‘नमुना संकलन गरिएका माटोमा अम्लियपन( पिएच) ४ देखि ८ दशमलव ४ सम्म रहेको छ,’ उनले भने, खेतीका लागि माटोमा अम्लियपन( पिएच)को मात्रा ६ दशमलब ५ देखि ७ दशमलब ५ सम्म हुनु उपयुक्त मानिन्छ ।’

माटोमा अम्लियपन aढी देखिएपछि तरकारी खेतीमा मुख्यगरी गाठे रोग देखिने उनको भनाइ छ । थाहा नगरको खेती गरिँदै आएको माटोमा फसफोरस र पोटासको मात्रा पनि बढी देखिएको छ । बाग्मती प्रदेश माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाको प्राविधिक सहयोगमा थाहा नगरपालिकाले गरेको परीक्षणबाट उक्त नतिजा देखिएको हो ।

किसानले खेतीपाती गर्दै आएका खेतबारीको माटोको अवस्था पत्ता लगाउन सबै वडाबाट संकलित ३ सय ३७ वटा संकलित माटोको नमुना परीक्षण गरिएको थियो । वडाहरुमा रहेका कृषि प्राविधिकहरुले संकलन गरेको नमुना माटोको परीक्षण गरिएको शाखा प्रमुख तिवारीले बताए ।

माटोको नमुना परीक्षणपछि प्रयोगशाला रिपोर्टको विषयमा माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख डाक्टर खड्कासहितको टोलीले थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाीलाई ‘ब्रिफिङ’ गरेका थिए । डाक्टर खड्काले थाहानगरको खेतीपाती गर्दै आएको खेतबारीमा परीक्षण रिपोर्टका आधारमा प्रति रोपनी २० देखि ३ सय किलोसम्म कृषि चुन हाल्न सुझाए ।