हेटौँडा । उपत्यका बाहेक बागमती प्रदेशका दश जिल्लामा सङ्गठित तथा आर्थिक अपराध बढेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा सङ्गठित अपराध बढ्दै गएको हो ।
चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि फागुन मसान्तसम्म ८८८ बैङ्किङ कसुर र वित्तीय अपराधका घटना भएको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८–७९ मा ५६३ भएकोमा आव २०७९–८० मा वृद्धि भई ९०४ पुगेको थियो भने गत आवमा एक हजार ३३४ पुगेको थियो । पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा चालु आवको साउनदेखि फागुनसम्म आपराधिक घट्नाको दर बढेको तथ्याङ्कले देखाउँछ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको फागुनसम्म ज्यान सम्बन्धित ६५६, आत्महत्या सम्बन्धित ५३८, चोरी सम्बन्धित २५७, सामाजिक अपराध सम्बन्धित ५१७, सवारी सम्बन्धित २१० र अन्य १७९ अपराधसँग सम्बन्धित घटना घटेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार मुद्दा दर्ता तथा अपराधमा बढोत्तरी भएको छ । आव ७८–७९ को अनुपातमा ७९–८० मा ६.२२ प्रतिशत र आव २०७९–८० को अनुपातमा २०८०–८१ मा ५.१८ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको तथ्याङ्क छ ।
आव २०७८–७९ मा चार हजार ४०५ मुद्दा दर्ता भएकोमा आव ७९–८० मा बढेर चार हजार ६७९ पुगेको थियो भने आव २०८०–८१ मा पाँच हजार १९७ मुद्दा दर्ता भएको छ । प्रहरीको तथ्याङ्क अनुसार चालु आवको फागुन मसान्त सम्म तीन हजार ३३५ मुद्दा दर्ता भएको छ । अघिल्ला आवको तुलनामा यस आवको फागुन महिनासम्म दर्ता भएको मुद्दा तुलनात्मक हिसाबले धेरै रहेको छ ।
त्यस्तै महिला तथा बालबालिका विरुद्धको अपराध पनि बढ्दै गएको छ । चालु आवको फागुन मसान्त सम्म १६६ वटा जबरजस्ती करणी, २६ बहुविवाह, ३४ जबरजस्ती करणी उद्योग, मानव बेचबिखन तथा ओसारपसार ६ र २ वटा बाल बिहासँग सम्बन्धित अपराधका घटना भएका छन् ।
त्यस्तै चालु आवको फागुन मसान्त सम्म २९४ लागूऔषध, ४७ कर्तव्य ज्यान, १६६ जबरजस्ती करणी, ६ मानव बेचबिखन तथा ओसार पसार, ५ अपहरण तथा शरीर बन्धक, १ डाँका र अन्य ११ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । गोरखापत्रबाट ।












प्रतिक्रिया दिनुहोस्