मकवानपुरको थाहा नगरपालिकामा रहेको कुन्छाल गाउँ । तस्बिर अनिल पराजुली ।
मकवानपुरको थाहा नगरपालिकामा रहेको कुन्छाल गाउँ । तस्बिर अनिल पराजुली ।

हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा अवस्थित कुन्छाल गाउँमा आफ्नै संस्कृति, परम्परा र जीवनशैली छ । थाहा नगरपालिका वडा नं. १ मा रहेको कुन्छाल गाउँमा गोपालीहरूको मौलिक सांस्कृतिक परम्परा र पहिचान अध्ययन, खोज र अनुसन्धान गर्नेको पनि उल्लेख्य उपस्थिति हुने गरेको हो । काठमाडौँमा राज्य गर्ने गोपाल वंशका सन्तान गोपाली (ग्वाला) लखेटिएर यस क्षेत्रमा आएको जनविश्वास छ । परिश्रमी समुदायका रूपमा चिनिने गोपाली समुदायको फरक संस्कृतिका कारण अध्ययन, अनुसन्धान र पर्यटकीय गन्तव्यको रूपमा यो क्षेत्रको पहिचान स्थापित भएको छ ।

यहाँ अपनाइने गुठी प्रथा, चाडपर्वको चलन, सांस्कृतिक पर्व, धार्मिक मान्यता र जीवनशैली छुट्टै खालको रहेको गाउँका नाइके एवम् शिक्षक नीराजन गोपालीले बताए । थाहा नगरपालिकाको वडा नं. १ कुन्छाल, वडा नं. ३ शिखरकोट, वडा नं. ६ पापुङ, वडा नं. १० चित्लाङको टौखेल, नुल गाउँ, काठमाडौँको थानकोट, चन्द्रागिरिको मत्छेगाउँ लगायतका क्षेत्रमा बसोबास गर्दै आउनुभएका गोपाली समुदाय गुठी प्रथाबाट सञ्चालित छ ।

तानमा आफैँले बुनेको कपडा लगाउने यो समुदायको रीतिरिवाज छ । कुन्छाल गाउँका गुठीका नाइके समेत रहनु भएका नीराजनका अनुसार यहाँ गुठी सञ्चालनको लागि पदीय जिम्मेवारी बाँडफाँड गर्ने चलन छ । यहाँको तीन वटा टोलमा ५ जना नाइके र हिसाबकिताब राख्ने तीन जना बैदार पनि हुनुहुन्छ । यहाँ नाइके र बैदार वंशाणुगत नै राख्ने प्रथा परम्परादेखि चल्दै आएको छ ।

सामाजिक काम गर्नुपरे नाइकेहरूले गाउँलेलाई उर्दी लगाउने गर्छन् । उर्दी नमान्नेलाई दण्डको व्यवस्था छ । गुठीको खेतीमा नजानेलाई २० रुपैयाँ र मलामी नजानेलाई १० रुपियाँ दण्डको व्यवस्था तोकिएको छ । गुठीमा दर्ता भएर रेकर्डमा भएका व्यक्ति मात्रै मलामी जान पाउने कुन्छाल गाउँमा व्यवस्था छ ।

यो गाउँमा रहेको ढुङ्गे धाराम उपलब्ध शिलालेख र ताम्र पत्रका आधारमा यो बस्ती तीन सय वर्ष पुरानो रहेको स्थानीय ६८ वर्षीय विष्णु गोपालीले बताए । सोही ढुङ्गे धाराबाट दुई सय ७३ घरधुरी रहेको कुन्छाल गाउँका मानिसले पानी पिउने गर्नुहुन्थ्यो । यहाँका गाउँको घरमा पृथ्वीनारायण शाहले एकीकरण गर्ने बेलाको हतियार (पुरानो तरबार) रहेको स्थानीयवासीको भनाई छ ।

यहाँ मनाउने विभिन्न चाडपर्व आफ्नै किसिमको छ । गाउँले पूजा, देवाली कुल पूजा, चुनी पूजा छ । चुनी पूजामा गुठीले बोकाको वली दिने चलन छ । लेकमा रहेका इष्ट मित्रबाट कुखुराको चल्ला ल्याएर वली दिइन्छ र फालिन्छ । कुन्छाल, टौखेल र नुलगाउँका गोपाली समुदायले कुखुरा पाल्दै पाल्दैनन् । यहाँ कुखुराको मासु मात्र होइन, अन्डासमेत खान पाइँदैन । भोज भतेर र गुठी पूजालगायत अन्य कर्ममा हाँसका अन्डा चढाइने गरिन्छ । अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन । भात र रोटीको कुमारी बनाएर कुमारी पूजा पनि गरिन्छ । मकै वाली, आलु भित्र्याएर गाउँलेको रोपाइ सकेपछि गुठी गरामा रोपाई गर्ने चलन छ । गुठी गरामा रोपाइ सकेपछि सामूहिक भोज खाने गरिन्छ । कुन्छाल गाउँमा रहेको गणेश मन्दिरमा वली दिने चलन छ । दसैमा यहाँ घटस्थापना मनाइँदैन । अष्टमीमा राँगाको वली चढाउने र दसैमा यहाँको गणेश मन्दिरमा वोकाको वली चढाउने गरिएको स्थानीय नीराजनको भनाइ छ । यहाँ उत्पादन भएको खाद्यान्न वाली समेत मन्दिरमा चढाएर मात्रै खाने गरिन्छ ।

जीवन्त सङ्ग्राहालयका रूपमा रहेको कुन्छाल गाउँ एकनासे घरसहित मौलिक स्वरूपको नमुना बस्ती पनि हो । ग्रामीण पर्यटकीय क्षेत्र कुन्छालमा घरवासको पनि व्यवस्था छ भने कला, संस्कृति, जीवनशैलीको अध्ययन गर्ने थलोको रूपमा पनि विकसित हुँदै गएको छ ।