हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–७, पाथिभरामा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्गअन्तर्गत झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको बा.प्र.०३–००४ प ८००८ नम्बरको मोटरसाइकलले बाटो पार गर्ने क्रममा पैदलयात्री बागमती गाउँपालिका–७ मनसाई बस्ने ११ वर्षीय कोपिला मसराङ्गीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट कोपिलाको बायाँ खुट्टा, अनुहार र छातीमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बागमती गाउँपालिका–१ माझगाउँ बस्ने ४३ वर्षीय पूर्णबहादुर राई र पछाडि सवार उनकी श्रीमती ४१ वर्षीया सुमित्रामाया राई पनि घाइते भएकी हुन ।
उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्