आफ्ना समस्या बारे सुनाउँदै मनहरी–७, बिजौना टोलका महिलाहरु । तस्बिर अनिल पराजुली ।

हेटौँडा । जङ्गली जनावर, जलवायु परिवर्तन र आर्थिक सीमितताका कारण मनहरी गाउँपालिका–७ बिजौनाका महिलाहरुको खेती र जीविकोपार्जन दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको छ । कृषि, पशुपालन र श्रमिक क्षेत्रमा आवद्ध यहाँका महिलाहरुले लगाएको बाली आरक्ष क्षेत्रबाट आउने जङ्गली जनावरले नष्ट गरिदिने समस्या भोगिरहेका छन् । पशुपालनका लागि आवश्यक घाँस र दाउरा सङ्कलन गर्न जङ्गलसम्म टाढा जानुपर्ने बाध्यता रहेको छ भने दैनिक जीवन चलाउन न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता अवस्था रहेको उनीहरु बताउँछन् ।

त्यसैगरी, स्थानीय सरकारबाट प्राप्त हुने सेवा–सुविधा र कार्यक्रमको जानकारी नपुग्दा वा पहुँच नहुँदा यहाँका महिलाहरु धेरैजसो अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्छन् । जङ्गली जनावरको बढ्दो त्रास, अस्थिर मौसम र आर्थिक कमजोर अवस्थाले बिजौनाका महिलाहरुको जीविकोपार्जन झनै असुरक्षित बन्दै गएको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ बिजौनाकी ४३ वर्षीया सुस्मिता थिङ दैनिक ज्यालादारी र घरायसी काम गरेर परिवार पाल्दै आएकी छन् । ९ जना परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिङका लागि जीवन सहज छैन ।

बिहान उठ्नेबित्तिकै जङ्गलमा दाउरा खोज्न जाने, घरेलु मदिरा बनाएर बिक्री गर्ने र सिजनअनुसार ज्याला मजदुरी गर्ने उनको दैनिकी बनेको छ । कृषिको काम पाइएमा धान रोप्ने र काट्ने, मकै रोप्ने, गोड्ने, मल बोक्ने जस्ता काम गर्छिन् भने निर्माण क्षेत्रमा ज्यामी काम र अरूको घरमा घरेलु काम समेत गरेर परिवारको गुजारा चलाउँदै आएकी छन् ।

“बाबुआमाले दिएको एउटा घडेरी बाहेक खेतीपाती गर्ने जग्गा छैन,” थिङले भनिन्, “दैनिक ज्यालादारीबाटै परिवार पाल्छु ।” उनका श्रीमान् गाडी चालक थिए । दुर्घटनामा परेपछि हाल घरमै बस्नुपर्ने अवस्था आएपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आएको छ । उनको कमाइबाटै दैनिक खर्चदेखि बालबालिकाको पढाइ खर्च समेत जोहो हुँदै आएको छ ।

झिसमिसेमै दाउरा खोज्न जङ्गल जाने थिङले विगत सम्झिँदै भनिन्, “पहिले २० मिनेटमै टन्नै दाउरा पाइन्थ्यो, अहिले नजिकै दाउरा पाउन छाड्यो, टाढा जानुपर्छ ।” उनले वनमा जाँदा वनपालले दाउरा ल्याउन नदिने गरेको गुनासो पनि गरिन् । “हामी ढलापढा दाउरा मात्रै ल्याउने हौँ,” उनले भनिन् ।

बस्ती बाक्लिँदै जाँदा जङ्गल नजिकै पाइने घाँस र दाउराको मात्रा घट्दै गएको स्थानीय महिलाहरुको भनाइ छ । “पहिले दुई–तीन भारी दाउरा ल्याउन सकिन्थ्यो, अहिले एक भारी पु¥याउन पनि मुस्किल पर्छ,” उनीहरुले बताए ।
यस क्षेत्रका उपभोक्ताहरु पहिले बुढीनी खोल्साको कुवाको पानी प्रयोग गर्दै आएका थिए । अहिले भने बोरिङको पानी घरघरमै पुगेको छ । २४ सै घण्टा धारामा पानी आउने भएकाले हाल पानीको समस्या नरहेको स्थानीयवासीहरु बताउँछन् । सुरुमा बस्ती पातलो हुँदा कुवाबाट पानी ल्याउन पालैपालो कुर्नु पर्ने अवस्था भए पनि अहिले त्यो समस्या हटेको छ । तर, बस्ती बाक्लिँदै जानु, रुख कटान बढ्नु र क्रसर उद्योग सञ्चालनमा आउनुका कारण पानीका स्रोत भने क्रमशः घट्दै गएको स्थानीयवासीहरुको भनाइ छ ।

स्थानीय ४८ वर्षीया देवमाया वाइवा व्यवसाय गरेर परिवार पाल्दै आएकी छन् । पहिले बाख्रा पालनमार्फत जीविकोपार्जन गर्दै आएकी वाइवाले नजिकै घाँस पाउन छाडेपछि बाख्रा पालन त्यागेर साना व्यवसाय सुरु गरेकी हुन् । उनका अनुसार, पहिले जङ्गल नजिकै प्रशस्त घाँस पाइने भए पनि पछिल्लो समय त्यो अवस्था रहेन । “अब रुखमा चढेर घाँस झार्न पनि सक्दिनँ,” उनले भनिन्, “त्यसैले बाख्रा पालन छाडेर चिया र खाना खुवाउने होटल व्यवसाय सुरु गरेकी हुँ ।”

वाइवाका श्रीमान् यही क्षेत्रको रोटरी विद्यालयको सवारी चालक हुन् । “श्रीमान् सवारी चलाउनुहुन्छ, म चिया–खाजा बेच्ने व्यवसाय गर्छु । अरु काम गर्न नसक्ने भएपछि यही कामबाटै परिवारको जीविका चलाइरहेकी छु,” उनले भनिन् । घाँस र वनस्रोतको अभावले स्थानीय महिलाहरुको परम्परागत पशुपालन पेशा प्रभावित हुँदै जाँदा वैकल्पिक आयआर्जनतर्फ मोडिन बाध्य भएका हुन् ।

यस्तै स्थानीय ५५ वर्षीया मैया कार्कीको दैनिकी बिहानैदेखि सुरु हुन्छ । पशु स्याहार, गोबर फाल्ने, पशुलाई कुडो खुवाउने, घाँस काट्ने र घरको खाना पकाएर उनी खेतमा लाग्छिन् । उनले पशुपालन र कृषिबाटै परिवारको जीविकोपार्जन गर्दै आएकी छन् । उनले दुई वटा दुहुनो गाई पालेकी छन् र त्यही आम्दानीबाट चार जनाको परिवार पाल्दै आएकी छिन् । पशुपालनसँगै उनले कृषि पनि गर्दै आएकी छन् ।

कार्कीले एलानी दुई कठ्ठा जग्गा तथा वार्षिक २५ हजार रुपैयाँ बुझाउने सर्तमा अरुको जग्गा भाडामा लिएर खेती गर्दै आएकी छिन् । उनी सिजनअनुसार धान, गहुँ, तोरी र फापर लगाउँदै आएकी छन् । तर, जिउडी खोला क्षेत्रको दुई कठ्ठा जग्गामा लगाएको गहुँ जङ्गली गैडाले माड्ने र खाने गर्दा हैरान भएको उनले गुनासो गरिन् ।

“पहिले गैडा तलतिर मात्रै आउँथ्यो, अहिले यही खेतमै आउँछ । गहुँ टिप्नै नपर्ने भइसकेको छ,” उनले भनिन् । यही वर्ष मात्रै चार पटक गैडा आएको र पहिलेभन्दा जङ्गली जनावरले धेरै बाली नष्ट गरेको उनको भनाइ छ । धानको सिजनमा हात्तीले धान माड्ने गरेको उनले बताइन् ।

बालीमा क्षति हुँदा पनि क्षतिपूर्ति नपाएको गुनासो गर्दै उनले भनिन्, “क्षति हुँदा नम्बरी जग्गाको मात्रै राहत पाइन्छ, हाम्रो एलानी जग्गा हो, केही पाउँदैनौँ ।” जनावरबाट बाली क्षति हुँदा क्षतिपूर्ति पाइन्छ भन्ने जानकारी समेत नभएकाले हालसम्म निवेदन नदिएको उनले थपिन् ।

स्थानीय स्तरमै उपलब्ध बिउ प्रयोग गर्ने कार्कीले बस्तुको मलसँगै रासायनिक मल र बालीमा औषधि पनि आफैँ प्रयोग गर्दै आएकी छन् । एक पटक औषधि छर्कँदा स्वास्थ्य समस्या आएको अनुभव स्मरण गर्दै उनले भनिन्, “आमा–छोरा औषधि हाल्न गएका थियौँ, म खेतमै ढलेँ, छोराले उठाएर घर ल्यायो ।” उनका अनुसार, अहिले बालीमा किरा धेरै लाग्ने गरेको छ । “जति विषादी हाले पनि किरा लागिरहन्छ । पहिले विषादी भन्ने कुरा नै थिएन, बस्तुको मलले नै राम्रो बाली आउँथ्यो,” उनले भनिन् ।

मनहरी क्षेत्रका महिलाहरुको साझा समस्या जङ्गली जनावर र मौसमजन्य जोखिम बनेको छ । यहाँका धेरै महिलाले खेतीपाती र ज्यालादारीबाट परिवारको खाद्यान्न जोहो गर्दै आएका छन् ।

स्थानीय शर्मिला प्रजाले पाँच कठ्ठा क्षेत्रफलमा गर्दै आएको धान र मकै खेती हात्ती र गैडाले बारम्बार नष्ट गर्ने गरेको गुनासो गरिन् । “छ महिना कुरेर बाली भित्र्याउनुपर्छ, तर जङ्गली जनावर पसे सबै नष्ट हुन्छ,” उनले भनिन् । तारबार गरे पनि हात्तीले भत्काउने गरेको र एलानी जग्गामा लगाएको बालीको बिमा नहुने समस्या उनले उठाइन् । “बाली बिमा गर्न पनि धेरै खर्च लाग्ने भएकाले बिमा गर्न सकेकी छैन,” प्रजाले भनिन् । उस्तै समस्या सिता पौडेलको पनि छ । “खेती लगाउने बेला पानी पर्दैन, बेमौसममा आउने पानीले बाली बिगार्छ,” उनले बताइन् ।

खेतीसँगै यहाँका महिलाहरु ज्यालादारी गरेर पनि परिवार पाल्दै आएका छन् । सविता प्रजा, कान्छीमाया पहरी, अन्जना तामाङ, लक्ष्मी थिङलगायत महिलाहरुले दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छन् ।

४३ वर्षीया आशामाया लोकोको परिवार पनि पशुपालन र कृषिमै आश्रित छ । बेमौसममा परेको पानीले खेत चिसो भई जिमा लाग्दा खेतीमा समस्या आएको उनले बताइन् । यद्यपि, पालिकाबाट मकै रोप्ने मेसिन, धान र मकैको बिउ तथा रासायनिक मल प्राप्त भएको उनले जानकारी दिइन् ।

त्यस्तै, ठुलीमाया लामाले लगाएको तोरी गैडाले माडेको छ । उनले गत वर्ष असिना पानीले सबै मकै नष्ट भएको र विगतमा २०५९ सालमा आएको बाढीले धान पुरेको घटना पनि स्मरण गरिन् । स्थानीय शोभा पहरीको खेतीयोग्य जमिन छैन । उनी बाख्रा पालन, जंगलमा घाँस–दाउरा संकलन र ज्यालादारी मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएकी छिन् । उनका श्रीमान् चालक हुन् । “दुवै जना मिलेर काम गरेर परिवार चलाइरहेका छौँ,” उनले भनिन् ।

त्यस्तै मनहरी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष ठाकुराम तितुङले टोल विकास संस्था मार्फत आएका योजनालाई प्राथमिकताका साथ वडा कार्यालयले कार्यान्वयनमा लगेको बताए । छुटेका योजनालाई वडामा आयोजना हुने औपचारिक कार्यक्रममार्फत पनि समेट्ने गरिएको उनले बताए ।

वडाध्यक्ष तितुङले विजौना टोलका महिलाहरुले उठाएका केही योजना समेटिन नसक्नुको कारण त्यहाँको टोल विकास संस्थाका अध्यक्ष सक्रिय नहुनु र योजनाहरु समयमै नआउनु भएको स्पष्ट पारे । वडा नं. ७ अन्य वडाको तुलनामा जङ्गली जनावरको उच्च त्रासमा रहेको स्वीकार गर्दै उनले आरक्ष क्षेत्रबाट आउने हात्ती र गैडाले किसानले लगाएको बाली नष्ट गर्ने गरेको बताए । यसअघि बाघको आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको घटनासमेत स्मरण गरे ।

“आरक्ष नजिक भएकाले जङ्गली जनावर आइरहन्छन् । यहाँ खेतीयोग्य जमिन पनि छ तर प्रत्येक वर्ष बालीमा क्षति पुग्ने गरेको छ,” वडाध्यक्ष तितुङले भने । कहिले जङ्गली जनावरले बाली खाइदिने त कहिले वेमौसममा परेको पानीले बाली नष्ट हुँदा कृषि पेशामा संलग्न नागरिकहरु समस्यामा परेको उनले बताए । दीर्घकालीन समाधान गर्न नसकिएको यथार्थ पनि उनले स्वीकार गरे ।

यहाँका स्थानीयवासीले ४०–५० वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी पुर्जा नहुँदा समस्या झेल्दै आएका छन् । जङ्गली जनावरबाट बाली क्षति हुँदा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउन नम्बरी जग्गाको लालपुर्जा माग्ने गरे पनि यहाँ अधिकांश जग्गा एलानी मात्र रहेको वडाध्यक्ष तितुङको भनाइ छ । वडाले सकेसम्म क्षतिपूर्तिका लागि सिफारिस गरिदिने गरे पनि किसानहरुले वर्षौंदेखि यो समस्या भोग्दै आएको उनले बताए ।

जलवायु परिवर्तनका कारण पानीका स्रोत घट्दै गएको र वेमौसममा परेको पानीले धान बाली डुबेको घटनासमेत स्मरण गर्दै वडाध्यक्ष तितुङले बर्खाका कारण पूर्ण क्षति भएको धान बालीमा क्षतिको ७० प्रतिशतसम्म राहत उपलब्ध गराइएको जानकारी दिए ।

थाहा हुँदैन वडाको योजना बारे
विजौना टोलमा रहेका महिलाहरुलाई गाउँपालिका र वडा कार्यालयले संचालन गर्ने कार्यक्रम बारे थाहा नहुने गरेको बताउँछन् । पूर्व पश्चिम राजमार्गको छेउमै रहेको बस्ती र बस्तीको नजिकै रहेको वडा कार्यालय मार्फत संचालन हुने योजना, अनुदानबारे आफूहरु अनविज्ञ रहेको स्थानीय सुस्मिता थिङको भनाइ छ । समूहमा बस्न थालेपछि मात्रै वडामा आउने बजेट तथा कार्यक्रमहरु बारे थाहा भएको उनीहरु बताउँछन् ।

टोल विकास संस्था बारेपनि यहाँका महिलाहरु अनविज्ञ रहेको बताउँछन् । टोल विकास संस्थामा यहाँका महिलाहरुको सहभागिता रहेको छैन् । स्थानीय सरकारसँग जोडिने नजिकको संस्थाको रुपमा टोल विकास रहेपनि महिलाहरु टोल विकास सँग जोडिन नपाउनु र यहाँ छुट्टै टोल विकास गठन नहुनुले नजिकको सरकारसँग यहाँका जनताको पहुँच न्यून रहेको स्पष्ट हुन्छ ।

अर्को टोलमा टोल विकास संस्था गठन भएको छ रे, हामीलाई त्यसबारे केही थाहा छैन, हाम्रोमा टोल विकास संस्था पनि गठन भएको छैन, छलफलमा सहभागि महिलाहरुले भन्नुभयो । बजेट निर्माण प्रक्रियामा पनि टोलको योजना टोल विकास संस्था मार्फट जानेभएपनि यो टोलका उपभोक्ताहरु त्यो बाट बन्चित रहेका छन् । यहाँ रहेका बस्तीहरु अधिकांश ऐलानी जग्गामा बसोबास गर्दछन् ।

त्यस्तै डेढ बर्षखघि मकवानपुर महिला उत्थान समाजको सक्रियतामा स्थानीय महिलाहरुलाई शसक्तिकरण गर्नुका साथै समूह बनाएर बचत गर्ने बानीको विकास गरिएको छ । सूर्यमुखी महिला समूहमा यहाँका महिलाहरुले मासिक ५० रुपियाँ बचत गर्ने गरेका छन् । कृषि, पशुपालन, श्रमिक र उद्यमशिलतामा निर्भर रहनुभएका यहाँका महिलाहरुले महिनामा दुई पटक बैठक बसेर मासिक बचतका साथै आफूहरुलाई परेको समस्याका बिषयमा पनि समूहमा छलफल गर्ने गरेका छन् ।

मकवानपुर महिला उत्थान समाजले फिर्ता गर्ननपर्ने गरेर बाख्रा पालनका लागि शोभा पहरीलाई १४ हजार रुपियाँ र तरकारी खेतिका लागि पम्फा पौडेललाई पाँच हजार रुपिया उपलब्ध गराएको छ । पहरीले समूहबाट प्राप्त गरेको पैसाले २ वटा बोका किनेकी छिन् भने पौडेलले कृषिका लागि प्राप्त गरेको पैसाले सिमि, साग लगाएकी छिन् ।

त्यस्तै घुम्ती कोष मार्फत व्यवसाय गर्न ठुलीमाया लामाले १० हजार, सिता पौडेलले पशुपालनका लागि २५ हजार र अन्जना तामाङले १५ हजार पाएकी छिन् । लामाले प्राप्त गरेको पैसाले किराना पसल गरेकी छिन भने पौडेलले गाई पाल्न थालेकी छिन् । त्यस्तै तामाङले २ वटा बाख्रा किनेर पालिरहनुभएको छ । त्यस्तैगरी आशामाया लो ले व्यवसाय संचालन गर्न २५ हजार पाएकी छिन् । उनले किराना पसल संचालन गरेकी हुन । समूहले सहयोग गरेपछि आत्मनिर्भर बन्न यहाँका महिलाहरुलाई सहज भएको छ ।