हेटाैँडा । हाटबजारमा कोदोको सेल, फापरका फुरौला र उसिनेको गिट्ठा एकाध घन्टामै बिक्री भयो । यसरी फटाफट सामान बिक्री भएकामा उनी खुसी देखिन्थिन् । घरमा सेल, फुरौला पकाएर र गिट्ठा उसिनेर उनले बिक्रीका लागि चैनपुर बजारमा ल्याएकी थिइन् ।
हाट बजारमा सेल, फुरौला र उसिनेको गिट्ठा चाँडै बिक्री भयो । जाडोमा उसिनेको गिट्ठा, सेल र फुरौला बिक्री गरेर सावित्री चेपाङले १ हजार २ सय रुपैयाँ आम्दानी गरेको बताइन् ।
बिक्री गरेको पैसाले हाट बजारबाटै उनले मकैको पिठो, तेल र नुन किनेर लगिन् । सावित्रीले आफ्नै बारीमा उत्पादन गरेको कोदोको सेल र फापरको फुरौला बनाएकी हुन् भने गिट्ठा जंगलबाट खोजेर ल्याएर घरमा उसिनेकी हुन् ।
राक्सिराङ गाउँपालिकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले हरेक महिनाको १ र १५ गते चैनपुरमा हाटबजारको व्यवस्था गरेको छ । हाट बजारमा गाउँमा उत्पादित वस्तुमात्र राख्न पाउने व्यवस्था गरिएको छ ।
राक्सिराङ गाउँपालिका—५ चैनपुरमा संचालन गरिएको हाटबजारको मंगलबार एक समारोहका बीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले चिउरीको विरुवा रोपेर उदघाटन गरेका थिए । उनले हाट बजारले गाउँमा उत्पादित बस्तुहरूले बजार पाउनुका साथै जंकफुड बिक्री वितरणमा न्यूनीकरण हुने बताए । राक्सिराङ गाउँपालिकाले २०७९ वैशाखदेखि गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा पन्ध्र दिने हाट बजार लाग्ने व्यवस्था गर्दै आएको थियो । ‘विगत केही महिनादेखि हाट बजारले निरन्तरता पाउन सकेको थिएन, अब निरन्तरता दिने गरी हाट बजारको व्यवस्था गरेका हौं,’ पालिका अध्यक्ष राजकुमार मल्लले भने ।
हाट बजारमा मह, गिट्ठा, भ्याकुर, बाँसको डोको, पेरुङ्गो, अल्लोले बनेको जावी, विभिन्न थरीका गेडागुडी पनि राखिएको छ । तत्काल खानका लागि पनि विभिन्न किसिमका मिठाइ पनि त्यहीँ नै पकाएर बिक्री गर्ने गरिएको छ । त्यतिमात्र होइन, कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले हाट बजारमा वडा/वडाले सांस्कृतिक कार्यक्रम गर्ने व्यवस्था मिलाइएको छ । ‘आलोपालो गरेर वडालाई सांस्कृतिक कार्यक्रम संचालन गर्ने जिम्मा दिएका छौं,’ पालिका अध्यक्ष मल्लले भने ।











प्रतिक्रिया दिनुहोस्