काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गते सोमबारदेखि पुस २४ गते बिहीबारसम्म थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ ।

संस्थापक र सर्वसाधारण शेयरधनीबीचको स्वामित्व अनुपात ७०ः३० कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।

सारथि लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबीच मर्जर सम्पन्न भएपछि लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपियाँ पुगेको छ । मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९ः२५.६१ प्रतिशत कायम भएको थियो । यही असन्तुलन समायोजन गर्न लघुवित्तले थप साधारण शेयर सार्वजनिक गर्न लागेको हो ।

एफपीओअन्तर्गत लघुवित्तले प्रतिशेयर १०० रुपियाँ अंकित दरमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गर्नेछ । यसबाट संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपियाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले निष्काशन गर्ने उक्त एफपीओ ४६ हजार ६ सय ८१ जनाले १०–१० कित्ता र यी मध्ये ७ जनाले थप १–१ कित्ता शेयर पाउने छन् ।