हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा–६, चुच्चेखोलास्थित नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ भवन उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले सहकारी क्षेत्र समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको उल्लेख गरे। नारी चेतना सहकारी जस्तै महिलाद्वारा सञ्चालित सहकारीहरूले महिलाको आर्थिक सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलेको बताउँदै उनले यस्तो कामलाई निरन्तरता दिन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए। साथै महिलाको सीप र प्रविधि विकासका कार्यक्रमहरू सहकारीमार्फत अघि बढाइने उनले बताए।

कार्यक्रम सहकारीकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी–२ का वडा अध्यक्ष बखानसिं पाख्रिन, संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दाहाल, भूमी समस्या समाधान आयोग मकवानपुरका विज्ञ सल्लाहकार अर्जुनप्रसाद चौलागाईं, संस्थाका सल्लाहकार उदय विडारी, रूपेश दुलाल, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, चुच्चेखोला वन सहकारीका उपाध्यक्ष धनबहादुर गौतम, संस्थाका निवर्तमान अध्यक्ष ज्ञानु अर्याललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा भवन निर्माण र फर्निचर सहयोग पुर्‍याउने व्यक्तिहरू— हिरादेवी दाहाल, तिलकमाया रुम्बा, रमेश कुमार थापा, गौरव कुमार पराजुली, देवकुमारी डंगोल, राधिका गौतम, कल्पना पराजुली र लक्ष्मी चौलागाईंलाई सम्मान गरिएको थियो।

दुईतल्ले पक्की भवन ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सहकारीकी व्यवस्थापक विपना घिमिरेले जानकारी दिइन्।

भीमसेन पौडेल
थप जानकारी