हेटौँडा । ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवद्र्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ मनाइने भएको छ ।
सिन्धुलीमा पुस २९ गतेदेखि माघ १ गतेसम्म रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा रैथाने तथा स्थानीय कृषि उपजको प्रदर्शनी र बिक्री स्टल, मौलिक खाद्य परिकारको प्रदर्शन तथा सेवनका व्यवस्था रहनेछ । साथै, रैथाने बालीको उत्पादन, संरक्षण र प्रवद्र्धनमा सक्रिय किसान तथा कृषिगत उद्यमीलाई सम्मान गरिने पनि गरिने भएको छ ।
हाम्रो रैथाने जैविक विविधता हराइरहेको सन्दर्भमा यस दिवसको माध्ययमवाट रैथाने कृषि जैविक विविधताको महत्व बारे जनचेतना बढाउने र त्यसको संरक्षण तथा उपयोगमा जोड दिने उद्देश्यले कार्यक्रमकाे आयोजना गर्न लागिएको उनले बताए । राष्ट्रिय स्तरमा कृषि जैविक विविधता संरक्षणका उपयुक्त विधि एवं पद्धतिहरुको विकास र अवलम्वन गरी कृषिका रैथाने जातहरु लोप हुनबाट बचाउने, कृषि जैविक विविधता संरक्षण एवं प्रवर्द्धनको लागि उपयुक्त नीतिगत एवं संस्थागत व्यवस्थाको विकास एवं सुधार गर्ने, कृषि जैविक विविधताको राष्ट्रिय अभिलेख तयार गर्ने तथा कृषि जैविक विविधता संरक्षणमा संलग्न संघसँस्थाहरु बीच सहकार्य र सञ्जालीकरण गर्ने कार्यालय प्रमुख अधिकारीकाे भनाइ छ ।
कार्यक्रम कृषि विकास कार्यालय सिन्धुली र सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड, कमलामाई नगरपालिका–६ को संयुक्त आयोजनामा तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश र बागवानी विकास केन्द्र सिन्धुलीको समन्वयमा संचालन गरिन लागिएको हो ।
हरेक वर्ष माघ १ गतेका दिन राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइदै आएको छ ।











प्रतिक्रिया दिनुहोस्