हेटौंडा । नेकपा एमालेका केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेलले पार्टीको आन्तरिक कमिलाई सच्याउदै सुदृढ र एकजुट हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले गढी गाउँपालिका कमिटीले आयोजना गरेको संगठन सुदृढीकरण तथा शुद्विकरण अभियानको क्रममा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको बिकृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

गठबन्धन सरकारको कारण सबैभन्दा बढि संविधान, राष्ट्रियता र जनजिविका कमजोर भएको आरोप लगाए । गठबन्धन सरकारले मुलुकलाई बर्बादीतर्फ तर्फ धकेलेको र अग्रगमनको लागि एमालेको विकल्प नरहेको उनको भनाई छ ।

उनले सुशासन कमजोर र भ्रष्ट बनाउने, समृद्विका आधारहरू भत्काउने, बैदेशिक मुद्राको सञ्चिति घट्नु, व्यापार घाटा बढ्नु, साधारण खर्च बढ्नु, राजनीतिक अस्थिरता उत्पन्न गरेर मुलुकलाई बर्बादी तर्फ धकेलेको जिकिर गरे ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिनाले स्थानीय निर्वाचन सन्देश, शिक्षा र आगामी संसदीय निर्वाचनको तयारी, जिल्ला सचिव नवीन सिग्देलले जनताको बहुदलीय जनवादको मान्यताको अनुरूप पार्टी निर्माण र परिचालन, उपसचिव सीता विष्टले जनसंगठन र पार्टीबीचको अन्तरसम्बन्धको प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा गढी गाउँपालिकाका ईन्चार्ज विदुर हुँमागाईँ, जिल्ला सदस्यहरू हरि कंडेल, मिलन पाठक, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष बलराम हुँमागाईँ, परिषद्का सदस्यहरू कृष्ण थिङ्ग, अनेकिसंघ जिल्ला अध्यक्ष बिष्णु दंगाल, अनेरास्ववियु जिल्ला अध्यक्ष भुवन मैनालीको आथित्यतामा रहेको थियो ।

पालिका कमिटीका सदस्यहरू, पार्टी वडा कमिटीका पदाधिकारी, जनसंगठनका गाउँपालिकाका पदाधिकारीहरू र जनप्रतिनिधिहरू सहभागी प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षतामा भएको हो । पालिकाका ८ वटै वडामा प्रशिक्षण भाद्रको पहिलो हप्तासम्म सम्पन्न हुने गरि निर्णय गरिएको पार्टी पालिका सचिव नानिराम तिमल्सिनाले बताए ।