हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ५ मा रहेको भोर्लेनी हाट बजारले मकवानपुर, सिन्धुली र काभ्रेवासीलाई जोडेको छ ।

जिल्ला फरक फरक भएपनि किनमेल गर्ने नजिकको बजार भोर्लेनी हाट बजारमा तीन वटै जिल्लाका स्थानीयको बाक्लो उपस्थिती थियो । स्थानीय स्तरमा उत्पादन भएको केरा, सुन्तलादेखि दैनिक खाद्यान्न किन्न काभ्रे, सिन्धुलीबाट स्थानीय मकवानपुरको भोर्लेनी हाट बजारमा झरेका थिए । हाट बजार संगै स्थानीय बजारमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा किन्नका लागि स्थानीयको बाक्लो उपस्थिती थियो ।

हाट बजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो । हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ । नेपाल, भारत, बङ्गलादेश लगायतका देशमा हाटबजारको प्रचलन रहेको छ । हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन ।