अहिलेको समय, परिस्थिति र वातावरण बुझ्नै नसकिने बन्दै गएको छ। सारा मानिस–आफ्नै जञ्जाल र गोरखधन्दामा अलमलिएका छन्। के गर्न हुने वा नहुने ? के भन्न हुने वा नहुने ? आदि स–साना विषयमा पनि मानिसलाई सम्भवतः ज्ञान, शिक्षा दिन नसकेर हो कि कसो हो ! सबैतिर अलमल देखिन्छ। मानिस बुद्धि र विवेककै कारण अरू प्राणीहरूभन्दा अग्रगन्य छ, विकासशील छ, सर्वोत्कृष्ट मानिन्छ। यसो भए पनि मानिसले आफूले आफैँलाई हेर्न पाएको हुँदैन, परख गर्न पाएको हुँदैन। समय, परिस्थिति र कालखण्डले गर्दा मानिसको सोच, विचार बदलिँदै जान्छ, दृष्टिकोण फेरिँदै जान्छ। त्यही सर्वोत्कृष्टताको कसीमा जाँचिन आफू समर्थवान् छ/छैनाैँ हेर्ने फुर्सद मानिसले कहिल्यै नपाएको हुन सक्छ या भनौँ चाहँदैन।

साना केटाकेटीदेखि लिएर प्रौढ, वृद्ध–वृद्धा पनि हिजोआज कुन न कुनै इलेक्ट्रोनिक प्रसाधन– टिभी, मोबाइल, आइप्याड आदिमा अल्मलिरहेका छन्। त्यसमा पनि ठूलो युवा जमातको कुरा गर्ने हो भने त मानौँ उनीहरूको जन्मै यही सामाजिक सञ्जालको भुलभुलैयामा नै अल्मलिन भएको हो कि जस्तो भान पर्छ। सामाजिक सञ्जालको यो युग गजबको छ। यस युगमा साँच्चै भन्ने हो भने मानिससँग कुनै कुराको विषयमा राम्ररी सोच्ने, बुझ्ने, सम्झने समय नै छैन जस्तो हुँदै गएको छ। समय भए पनि सही रूपले जाँचपडताल गर्ने फुर्सद पनि छैन, धैर्य पनि छैन र त्यसप्रतिको खासै दिलचस्पी पनि नभएको जस्तो देखिँदो छ, जुन अत्यासलाग्दो हुँदै गएको छ।

आफूबाट कुनै गल्ती भएको छ भने त्यसलाई सहर्ष स्वीकार गरेर क्षमा माग्नुको बदला त्यसलाई गल्ती साबित तुल्याएर हल्लाखल्ला गरेर दबाब दिने गलत प्रवृत्ति बढ्दै गइरहेको छ। यो यहाँ हुन्छ, त्यहाँ हुन्न भन्ने छैन, जहाँ पनि हुन सक्छ। मानिसमा आफू पुगेको निष्कर्ष वा आफूमा विकसित विश्वासको परख गर्ने धैर्य छैन। बाहिरी सजधज र स्वयंको विज्ञापनमा हिजोआजका मानिस अल्मलिन पुगेको देख्दा के तपाईंलाई आश्चर्य लाग्दैन ?

फेसबुक भनौँ कि ह्वाटस्याप, टिकटक, भाइबर जे भनौँ तिनले दिन खोजेको सुविधाको बदला तिनलाई दुरुपयोग गर्ने प्रवृत्ति हावी भइरहेको छ। यसतर्फ समयमै ध्यान नदिने हो भने यो मानव मात्रकै लागि मन्द विष बनेर मानवतालाई नै संहार गर्ने महामारीको अवस्थामा पुगे आश्चर्य मान्नु पर्दैन।

राम्ररी परख नभएका वा निक्र्योल नगरिएका कुनै अधकल्चो विचार वा विचारको स्फुरण हुनासाथ त्यही नै ध्रुवसत्य हो कि भन्नेजस्तो गरी विभिन्न सामाजिक सञ्जालमार्फत प्रसार र प्रचारबाजी गर्ने चटारोले पछि गएर पछुताउनुपर्ने अवस्था आउँदैन भन्न कहाँ सकिन्छ ?

हिजोआज यस्तो परिस्थिति एउटा होइन हजारौँ घटिरहेका छन्, जुन कुरा पत्रपत्रिकामा समेत बराबर आउने गरेकाबाट जो कोही अनभिज्ञ छैन। एकचोटि सार्वजनिक भएको गलत विषयको मैलो पखाल्न गाह्रो मात्र होइन असम्भवप्रायः हुन्छ। अथवा भनौँ निकै धैर्यसाथ पर्खे मात्र त्यसबाट कुनै बेला मनभित्र आफूले आफैँलाई त्राण दिने किसिमले आश्वासन दिन सकिएला! अन्यथा सफा जीवनमा कालो दाग लागेजस्तो धोइपखाली गर्न असजिलो हुन्छ। यो विचारणीय कुरा छ तर थोरै मानिसले मात्र यो बुझेका छन्। अधिकांश मानिसले त यो सत्यलाई बुझ्न पाएका पनि हुँदैनन्।

साधारणतः मान्छेमा सिर्जित हुने विचार अधिकांश कुनै सुप्त विचार ग्रहणबाट प्रारम्भ भई त्यसका गुणदोषमाथि विचार गर्दै मस्तिष्कभित्रको लामो र अर्थपूर्ण विचार मन्थनपश्चात् परिपाक भएर बाहिर अभिव्यक्त हुन तयार हुने हो। यस्तै परिस्थितिबाट मानिसले धेरै वर्षदेखि आफूलाई अभ्यस्त गर्दै आएकोमा अबका सुविधाजन्य प्रविधि वा विविध आविष्कारका चमत्कारको कारण त्यसमा वैभिन्यताको छनक यसरी बढ्दै गएको छ। पहिलेको अवस्थामा अगाडि बढ्न वा पछाडि फर्कन कुनै गाह्रो थिएन, सजिलै आत्मसात् गर्न सकिने किसिमको थियो। अबको अवस्था त्यति सजिलो छैन। यो त दुष्कर झन् कठिन बन्दै गएको छ।

हिजोआज मानिस आफूलाई धार्मिक वा आध्यात्मिक व्यक्ति देखाउन अनेकथरी बाह्य वस्त्र र परिधानको पछि लागेको पाइन्छ। समाजमा को धार्मिक ? को आध्यात्मिक व्यक्ति ? भनेर छुट्याउने कसी एक एक गरी विलुप्त बन्दै जाँदैछ। सत्य, दया, माया, करुणा, इमानदारी, अहिंसा, सद्भावजस्ता गुण धार्मिक भनौँ वा आध्यात्मिक व्यक्तिको पहिचान र गुण हुनु पर्ने हो। आज यी गुणको बदला बाह्याडम्बर बढ्दै सही र सत्य गुण भने ओझेल पर्दैछ। जसको कारण मानिस बाहिरी भेषभूषा र तमकझमकमा अल्मलिने परिस्थिति बढ्दै गइरहेको छ। त्यसबाट प्रताडित हुने, आहत हुनेहरू पनि बढ्दै गइरहेको जताततै देखिन्छ।

आजकाल मानिस आ–आफ्नो जीवनको कुनै क्षणको उराठलाग्दो क्षणबाट केही शान्ति र आनन्द प्राप्तिको मृगतृष्णामा कसैले उहाँ त यस्तो पहुँच र उस्तो पहुँचमा पुगेको धार्मिक, आध्यात्मिक व्यक्तित्व भनिदिएको भरमा भएको घर, परिवार छोडेर थाहा नभएको तथाकथित सुखी जिन्दगीको आशामा समस्या र अन्योलको संसारमा साँझपखको बत्तीमा पुतली जल्न पुगेजस्तो आफैँले आफैँलाई जलाउन उद्यत भइरहेको जस्तो यत्रतत्र देखिन्छ।

जीवनमा केही न केही समस्या नहुने को हुन्छ ? धैर्य नगुमाइ जीवनमा जे–जस्तो सङ्घर्षका क्षण आइपर्छ त्यसलाई चुनौती सम्झेर, आएको समस्यालाई बुद्धिमत्तापूर्वक समाधान गर्न अगाडि बढेर काम गर्न सकिएमा नै खोजेको परिणाम हात पर्छ भन्ने यथार्थ नबुझेर मानिस अनेकथरी समस्या र भड्खारोमा फस्न पुगेको जताततै देखिन्छ । व्यक्ति व्यक्तिको यस्तै कमजोरीको फाइदा वा भनौँ बाह्याडम्बरको सहाराले केही व्यक्तिविशेष अनेकौँ किसिमका अलौकिकता र तिलस्मीको गोरखधन्दा चलाइरहेका छन्।

कैयौँ यस्ता कुकृत्य समाजमा विद्यमान लाजगालको कारण बाहिर प्रकट हुँदैन। यस्ता व्यक्तिहरूको पहुँच प्रशासन, राजनीतिक व्यक्ति र ठूलाबडा भनिनेहरूसँग त्यत्तिकै बलियो हुने भएकाले कुकृत्यलाई ढाकछोप गर्न र बचाउन सहयोग पु-याइरहने कारण उनीहरू सधैँ पवित्र र चोखाजस्ता देखिन्छन्। समाजमा विद्यमान यस्तो प्रवृत्तिले बाह्याडम्बरकै आडमा कुकृत्य गर्नेहरूलाई अरू प्रेरणा र प्रोत्साहन दिइरहेको यत्रतत्र देखिन्छ।

धर्म÷अध्यात्मको सही अर्थ र तìव बुझ्ने/बुझाउने शिक्षा/दीक्षाको अभावको कारण जताततै मानिस अनेकथरी वाद र सम्प्रदायमा अल्मलिन पुगेका छन्। जीवन र जगत्लाई बुझ्ने ज्ञान/विज्ञानसहितको शाश्वत शिक्षाको जगमा जबसम्म सानै अवस्थादेखि शिक्षित तुल्याउने चेष्टा गर्दैनौँ यस्ता बाह्याडम्बरी व्यक्तिविशेषका कालाकरतुतहरूलाई समाजबाट बहिष्कार गर्न गाह्रो पर्ने पक्का छ। ‘कालो गए गोरो आउँछ’ भन्ने प्रवृत्तिले मलजल पाउँछ। धर्म/अध्यात्मको नाममा मानिसलाई आकर्षित तुल्याइ त्यसैको आडमा भौतिकतालाई आर्जेर आफूले चाहेको मोजमज्जा र मनोरञ्जनलाई सजिलै प्राप्त गर्न सकिने साधन बनाउनेको दुष्चक्र निमिट्यान्न पार्न सामान्य नागरिकदेखि सरकारसम्मको अथक प्रयत्न जरुरी छ।

हामी कहिले बुझौँला कि सत्यनिष्ठामा रही सबै प्राणीप्रति समभाव राखी दया, माया, करुणा, अहिंसा, इमानदारी, सद्भाव, मैत्री, सदाचारको साथ कर्म मात्रै होइन ‘सुकर्म’ गर्ने हो भने जीवनमा अल्मलिनु पर्ने, दुःखी भई कसैको लहैलहैमा लाग्नुपर्ने अवस्थाबाट मुक्त हुन सक्छौँ।

कहाँनिर हामी गल्ती गरिरहेका छौँ कि आफैँसँग भएको अनगिन्ती सकारात्मक ऊर्जालाई नजानेर, नबुझेर कहीँ अरूतिर छ कि, कसैले हात टाउकोमा राखिदिएको भरमा प्राप्त भइहाल्छ कि, कसैले सापटमा आशिर्वाद दिइहाल्छ कि भनी कसैको पछि–पछि लाग्न लालायित भइदिन्छौँ। यो नै दुःखको सुरुवात हो

भने हुन्छ। निष्ठा, लगन र मिहिनेतका साथ लक्ष्य प्राप्त नहुञ्जेलसम्म काम गर्नुबाहेक संसारमा दुःखबाट छुटकारा पाउने अर्को कुनै छोटो बाटो छैन। जीवनलाई बर्बाद तुल्याउने जीवनशैली कुन हो ? आहार–विहार के हो ? त्यसलाई चाहिँ राम्ररी बुझ्नुपर्छ र जीवनमा निख्खार ल्याउन प्रयत्न गर्नैपर्छ। त्यो नबुझ्दा र नजान्दा ‘आनन्दको जीवन बेकारमा बर्बाद’ भएका अनगिन्ती उदाहरण तपाईं/हाम्रै वरपर प्रशस्त छन्।

मानिस धेरैजसो वर्तमानभन्दा भविष्यप्रति चिन्तित देखिन्छ। चिन्तित हुनुपर्ने भनेको वर्तमानमै हो तर यहाँ उल्टो भइरहेको छ। वर्तमान असल भयो भने भविष्य यसै पनि असल हुन्छ। यो ध्रुवसत्य कुरा हो। धर्म–अध्यात्मले त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। यसलाई बुझ्नपट्टि मानिस लागिरहेको छैन। यहीँनिर सबैभन्दा ठूलो गल्ती अधिकांश मानिसबाट भइरहेको छ। ‘जस्तो कर्म त्यस्तै परिणाम’ भन्ने उक्ति नै छ। ढिलो/चाँडो त्यो प्राप्त भएरै छोड्छ। चिन्तन र विचारले नै मानिसलाई कर्ममा अभिप्रेरित गरिरहेको हुन्छ । कसैलाई धनको इच्छा छ भने पाइला पाइलामा असर्फी, हीरा, जवाहरत छरिएको छ, मात्र टिप्न जान्ने विधिको जरुरत छ भनी मनलाई विश्वस्त तुल्याई कर्मक्षेत्रमा जुट्नुपर्छ। आरोग्य चाहिने हो भने आफूलाई सधैँ निरोगी र रोगले केही गर्दैन भनी धैर्य र साहस बटुल्नुपर्छ, जे वस्तु प्राप्त गर्ने हो त्यसैको चिन्तन/मनन गरे पाउन गाह्रो छैन। सबै कुरा यही संसारमै छ, मात्र तिनलाई जोर/जामल गर्न जान्नु प-यो। बिना परिश्रम, बिना पसिना, बिना धैर्य संसारमा केही पनि पाइँदैन भन्ने कुरा बिर्सनु हुँदैन।

गोरखापत्रबाट साभार