हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गठबन्धनको कमिकमजोरीका कारण मकवानपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य र प्रदेशसभामा नेपाली काँग्रेसबाट उम्मेद्वार भएकाहरुले पराजित हुनुपरेको बताएका छन् ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै गठबन्धनको समस्याको कारण काँग्रेस पराजित हुनुपरेको उनले बताए । गठबन्धनमा समस्या छ, उनले भने तत्कालै बैठक बसेर छानबिन गछौं । बिजेता उम्मेद्वाहरु अहिले मतदातालाई धन्यवाद दिन व्यस्त भएकाले चाडै बैठक बसेर समस्याको जडमा पुग्ने उनले बताए । प्रदेशमा सोचेजस्तो मत आएपनि गठबन्धनको कमिकमजोरीका कारण प्रतिनिधि सभा सदस्यमा मत नपाएको उनको तर्क छ ।

मतदाताले अहिले नयाँ उम्मेद्वार खोजेको जिकिर गर्दै उनले नगर क्षेत्रमा स्थानीय तहकै प्रभाव देखिएको बताए । नेपाली काँग्रेस मकवानपुरले मकवानपुर क्षेत्र नं. १ अन्र्तगत बकैया, बागमती गाउँपालिकामा बढी मत पाएपनि हेटौंडा उपमहानगरपालिका प्रवेश गरेपछि कम मत पाएकाले हारेको उल्लेख छ ।

सचेत, नयाँ मतदाता, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव र स्थानीय तहमा पाएको मतका आधारमा हलो विजयी भएको तर्क राख्दै पार्टी सभापति लामाले गठबन्धन हुँदा पनि काँग्रेसका उम्मेद्वारले पराजित हुनुपरेको बताए । पत्रकार सम्मेलनमा पार्टी सचिव भीमसेन महत, प्रवक्ता अर्जुन प्रसाद लामिछाने लगायतकाको सहभागिता रहेको थियो ।