हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।

हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा किसानहरुले सरकारबाट दुग्ध उत्पादक किसानहरुलाई सहयोग नभएको, पशुआहारको मूल्यवृद्धि भएको, दूधको उचित मूल्य नपाएको, जिल्ला संघले समयमै दूधको भूक्तानी नदिएको गुनासो गरेका थिए । उपमहानगरपालिकाले सहयोग नगरेको, कृतिम गर्भाधानमा दिदै आएको सहयोग कटौती गरेकोमा समेत किसानहरुले आक्रोश ब्यक्त गरेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा संयोजक रमेश कुमार पराजुलीले आर्थिक प्रतिवेदन, ऋण संयोजक टीका कार्कीले ऋण समितिको प्रतिवेदन, शिक्षा उपसमितिकी संयोजक सरस्वती पुडासैनीले शिक्षा उपसमितिको प्रतिवेदन र ब्यवस्थापक घनश्याम दाहालले लेखा परिक्षण प्रतिवेदन र चालु आव ०७९÷०८० को लागि ६ करोड १२ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

भेलामा सबै भन्दा बढी दूध विक्री गर्ने बलराम अधिकारी सफा दूध विक्री गर्ने शारदा तिमल्सिना, गुणस्तरीय दूध विक्री गर्ने नेत्र प्रसाद चौलागाई, असली कारोवारी राम प्रसाद घिमिरे र दीप प्रसाद धमला, ज्येष्ठ शेयर सदस्य रामप्रसाद चौरेल र नन्द कुमारी चौरेललाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा टोल सरसफाई गर्ने चुडामणी घिमिरेलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । साधारणसभामा जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, संस्थाका सल्लाहकार कृष्ण प्रसाद पराजुली, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद नेपाल, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी,राजेदेवी मावि ब्यवस्थापन समितिका सदस्य हिरामणी घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । संस्थामा ३ सय ५८ जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।

भीमसेन पौडेल
थप जानकारी