छतिवनकाे परिचय
छतिवन प्राय ७-७ वटा पात हुने, ससाना फूल र लामालामा कोसा फल्ने (झट्ट हेर्दा शितल चिनीको कोशा जस्तै), चोट लाग्दा दुध निस्कने वृक्ष हो । यसको अंग्रजी नाम Chatian, Devil’s tree, Ditta bark हो भने संस्कृतमा यसलाई सप्तपर्ण, विशाम्च्छद, सप्तछद भनेर चिनिन्छ l यसको वैज्ञानिक नाम Alstonia scholaris हो । यो रुख प्राय नदि किनारको सुक्खा क्षेत्रमा, साथै बाटो छेउको खुल्ला जग्गामा जहाँ कुनै प्रकारको रुख बिरुवा छैनन् र प्रकाशको प्रतिस्पर्धा हुदैन त्यस्तो स्थानमा राम्रोसंग हुर्किएको पाइएको छ l प्राय: घनाजंगलमा यसको उपस्थिति देखिएको छैन l यसको पात अत्यन्त हरियो, आकर्षक र एक आपसमा समान ढंगले मिलेको हुन्छ l यो सदाबहार चरित्र (पात नझर्ने) बोकेको रुख हो जसले गर्दा सुक्खायाममा टाढाबाट पनि यसलाई स्पष्ट देख्न र चिन्न सकिन्छ l
छतिवन २० मीटरसम्म अग्लो, गोलाई मध्यम र छरिएको हाँगाहरूले गर्दा रुख झ्याम्म परेको देखिन्छ l बोक्रा खैरोरंगको भित्रपट्टि फुस्रो सेतो, धेरै चिराचिरा परेको हुन्छ । यसलाई काट्दा, भाँच्दा वा पात टिप्दा सेतो दुध आउँछ । एकै ठाउँबाट पाँचदेखि सात वटासम्म पातहरू समुहमा निस्कन्छन् । पात १० – १२ से.मी. लामो, भालाकार वा गोलाकार, मुल दहो नशा स्पष्ट र बाक्लो देखिने, किनारा सीधा हुन्छ । फूल सानो, हरियो सेतो रंगको, सानो सानो झुप्पामा फुल्दछ, जुन मिलेर ठूलो गुच्छा जस्तो बन्दछ । फल ६० से. मी. लामो, साँगुरो जोडी भई झुकेर फल्दछ । बीउहरू सुन्तला रंगको, चेप्टो र थुप्रै संख्यामा हुन्छन् ।
उपयोगीता
मुलत यसको बोक्रा र दुधको उपयोग गरिन्छ l बोक्राको स्वाद टर्रो र तितो हुन्छ र यो औलो ज्वरोमा प्रयोग गरिन्छ । सुत्केरी भएको महिलालाई यसको रस खान दिइन्छ । कलेजोको समस्यामा, चर्मरोग, झाडापखाला र आँउमा पनि यसको प्रयोग गरिन्छ । यसको चोपलाई दाँत माझ्नको लागि प्रयोग गरिन्छ र चोपबाट राम्रो गुणस्तरको चुइगम प्राप्त हुन्छ l बोक्राबाट औषधि, रेशा र फूलबाट प्राकृति तेल उत्पादन हुन्छ l दुधलाई अल्सर, ट्युमर र वाथको दुखाईमा पनि प्रयोग गरिन्छ । हाम्रो तराईक्षेत्रमा गाइबस्तुलाइ छिटो मोटाउनको लागि यसको बोक्रा खुवाउने गरिन्थ्यो l महासुर्दशन चूर्ण, सप्तच्छदादि क्वाथ, सप्तपर्णधन वटी आदि यसबाट तयारी आयुर्वेदिक औषधिको नाम हुन् l साथै यसको काठ पनि प्रयोगमा आउछ भनिन्छ तर यहाँ सालको काठनै अधिक हुनाले छतिवनको काठको प्रयोग भएको देखिएको छैन l
पछिल्लो समयमा यसलाई सजावटको लागि रोपेको पाइन्छ । सदावहार हुने, अत्यन्त शितलता प्रदान गर्ने र जहाँ बर, पिपल, समी जस्ता ठुला बिरुवा लगाउन स्थानाभाव हुन्छ ति स्थानमा यी उपयोगी मानिन्छन l तर जहाँ चौतारी वा सजावटको लागि रोपन गर्ने हो त्यहाँ यसको मूल काण्डलाई नियमित काटछाँट गरेर फैलावटमा जोड गर्ने र अग्लो हुन् नदिने उपाय गर्नु पर्छ l यसो गर्न सकेमा यो अत्यन्त आकर्षक चौतारीको रुपमा बिकाश गर्न सकिन्छ l सडक किनारको क्षेत्र जहाँ सडक बिस्तारको क्रममा नासिने सम्भावना छैन ति क्षेत्र र नदि किनारका सुक्खा क्षेत्र, खोल्सीमा यी अत्यन्त उपयुक्त हुन् l हाम्रो देशका तराई क्षेत्र जहा गर्मीमा अत्यधिक गर्मि हुन्छ ति स्थानमा चिस्यान कायम राख्ने, शितलता दिने, गर्मीमा बस्नको लागि समेत उपयोगी हुनाले यिनको रोपण उपयुक्त हुन्छ l साथै कम्जोर र सुक्खा जमिनमा पनि सहज हुर्कन सक्ने हुनाले क्षतिग्रस्त जमिनको पुनर्स्थापना गर्न र भू क्षय हुने स्थानमा समेत यसको प्राविधिक ढंगले उपयोग गर्न सकिन्छ l
पुराना दिनहरुमा औषधिमा ब्यापक प्रयोग भएपनि औषधिको लागि यसको खेती गरिएको पाइदैन तर यसको बढ्दो संकलनले गर्दा प्राकृतिक अवस्थामा कम हुँदै गएको छ। यो वनस्पतिलाई विश्व संरक्षण संघले दुर्लभ (Rare) वनस्पतिको सुचीमा राखेको छ ।
प्राकृतिक बासस्थान तथा उद्गम
नेपालमा यो रुख प्राकृतिक अवस्थामा १०० -१२०० मीटरसम्मको उचाईमा पाइएको छ l मुलत: तराई, दुन र भावरका उष्ण र आद्र पतझड जंगलमा यसको राम्रो उपस्थिति छ l यसलाई आद्र र उष्ण हावापानी भएको ठाउँमा लगाउन सकिन्छ । यो खोलाकिनारा,गेग्रानयुक्त माटो,बलौटे माटो वा सुक्खा माटो जस्तोसुकै माटोमा पनि हुर्किएको पाइन्छ । नेपालको पुर्व देखि पश्चिम सबैक्षेत्रमा यसको उपस्थिति छ तर यसको छुट्टै प्राकृतिक जंगल देखिएको छैन l पूर्वी एशियाका र अफ्रिकाका उष्ण क्षेत्रहरूमा पनि यो पाइन्छ । हाम्रो छिमेकी देश भारत, म्यान्मार, इन्डोनेसिया, फिलिपिन्समा पनि यसको उपस्थिति पाइन्छ l नेपालमा यसको एकाध बाहेक अधययन भएको छैन तसर्थ अधययन जरुरि देखिएको छ l
मकवानपुरमा यसको नगन्य उपस्थिति देखिएको छ र हाल सम्म भेटिएकोमा अधिकांस राजमार्ग आसपासको छेत्रमा छन् यी पनि प्राकृतिक हुन् वा कुनै समयमा रोपण गरिएका हुन् यसको तथ्यांक हामीसंग छैन l यो मध्य मनहरी देखि लोथर खण्डको क्षेत्रमा राम्रो अवस्थामा छन् तर आगामी बाटो बिस्तारको क्रममा यी सबै जसो नासिने निश्चित छन् l मकवानपुरको पूर्वी भेगमा छतिवन नामको स्थान पनि छ जहाँ यहि बिरुवाको कारण त्यहाको नाम छतिवन रह्यो भन्ने छ तर हाल त्यहाँ पनि यसको उपस्थिति नगन्य छ l जिल्लाम यसको घट्दै गएको अवस्था, महत्वको अभावले यो बिरुवा हाम्रो प्राथमिकतामा रहेको छैन यसको कारण पनि यो लोपोन्मुख तर्फ अग्रसर छ l
खेती तथा प्रसारण
यसको फूल पुस-माघमा फुल्दछ र फल चैत्र – जेठमा लाग्दछ । यसको प्रसारण बीउबाट गर्न सकिन्छ तर कोशा फुट्नु अगावै यसको बिउ सुरक्षित ढंगले रुखबाट संकलन गरेर छहारीमा सुकाउने र बिस्तारै कोशाबाट निकालेर रोप्ने गर्नु पर्छ l बिउ संकलनमा ध्यान दिनुपर्ने कुरा के छ भने यसको बिउको कोसा आफै फुट्यो भने यसको बिउमा भएको रेसमी भुवाको कारण सजिलै उडेर जाने हुनाले संकलन गर्न सकिदैन तसर्थ फल पाक्नासाथ् कोसा संकलन गर्नु पर्दछ l यसको रुख मुनि बिरुवा नहुनाको प्रमुख कारण यहो हो l
सामान्यतय एउटा कोसामा १०-१२ दाना बिउ हुन्छ l बिउ जम्मा गरेपछि नर्सरीको सफा जमिनमा माटोमा बालुवाको भाग धेरै हुने गरि मिश्रण गरेर वा ट्रे मा वालुवा माटोको मिश्रणमा पातलो गरि छर्ने र त्यसमाथि पातलो बालुवा छरेर थोरै चिस्यानमा यसको बिरुवा राम्रो उम्रन्छ l सम्भव भएसम्म यसलाई प्लास्टिकको झिल्लीले छोप्ने वा छहारीको व्यवस्था गर्ने तर सिधै माथिबाट पानीको थोप्ला पर्न नदिने l यसको बिउ राम्रो भाडामा सुरक्षित राख्न सक्ने हो भने २-३ महिनासम्म बिउ भण्डारण गर्न सकिन्छ l यसको बिउको अंकुरण दर उच्च छ l
हाँगा कटिंगबाट पनि यसको प्रसारण भएको पाइन्छ l जहाँ बिरुवा रोपण गर्नुपर्ने हो त्यहा मोटो हाँगा (कलिलो मर्छ) सिधै रोपण गर्ने वा ठुलो पोलिथिन ब्यागमा हाँगा ल्याएर सार्ने तर यसको जीवित दर अलिक कम छ त्यसमा पनि हाँगालाई राम्रोसंग थिचेर रोप्नु पर्छ ताकी यसको हाँगा नहल्लियोस, हाँगा हल्लियो भने पालुवा आएको पनि मर्दछ तसर्थ यसमा अलिक ध्यान दिनु पर्दछ l हाँगा वा कटिंगबाट बिरुवा सार्दा …. हाल्न सके राम्रो हुन्छ l तसर्थ बीउबाट नै प्रसारण बिधि सरल हुन्छ l
प्रमुख रासायनिक तत्त्व
यसको बोक्रामा मुख्य दुई किसिमका अल्कोलाइडहरू इचिटामिन (echitamine) र |इचिटामाइडिन (echimidine ) पाइन्छन् । अल्कोलाइड बाहक अल्फा एमाइरिन (c-amyrin), लिपिओल एसिटेट (lepeol acetate), विटासिटोस्टेरोल (a-sitosterol) र स्टीग्मास्टेरोल (stigmasterol) आदि रासायनिक तत्त्वहरू पाइन्छन् ।
अन्त्यमा: प्रकृतिको शुन्दर उपहार, सदाबहार बिरुवा हामीबाट लोप हुने अवस्थामा पुगेको छ अझ हेटौडा नारायणघाट खण्डको छेउमा रहेका यी बिरुवा बाटो बिस्तारको क्रममा नासिने अवस्थामा छन् तसर्थ तुरुन्त यसको बीउबाट प्रसारण गरेर अधिक भन्दा अधिक स्थानमा पुर्यौअनु पर्छ र हामि यो अभियानमा छौ ।












प्रतिक्रिया दिनुहोस्