हेटौंडा । बागमती प्रदेश सांसद एवं सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले सामुदायिक वन विभिन्न बहानामा धनाढ्यको कब्जामा गैरहेको बताएकी छिन । सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडाको दोस्रो अधिबेशनको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

सांसद पाठकले संघिय सरकारले ब्यक्तीलाई बिभिन्न परियोजनाको नाममा ३० बर्षको लागि सामुदायिक वनको भोगचलन गर्न दिने नीति समुदायले जोगाएर राखेको वन विनास गर्ने कारकतत्व हुने बताइन । सरकारले बिपन्न समुदायलाई भने १० बर्षको लागि भोगचलन दिने निर्णयले १० बर्षसम्म वन जोगाउन बिपन्न समुदाय प्रयोग गरेर धनाढ्यलाई सुम्पने किसिमको प्राबधान ल्याएकोप्रती सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भैरहेको बताइन ।

समुदायलाई सम्पन्न र समृद्ध बनाउन सामुदायिक वन उपभोक्ता समुह केन्द्रित भएर स्रोतहरु आउनपर्ने उनको भनाई छ । समुदायलाई नै माथी उठाउन उनीहरुले नै वन जोगाएको कारण प्राप्त रकमहरु उनीहरुसम्म पु¥याउनुपर्ने राज्यको दायित्व रहेको उनको भनाई छ । जलबायु परिवर्तनको असर कम गर्नको लागि दिनरात खटिने समुदायको लागि काम गर्नको लागि सरकार र सरोकारवालालाई उनले आग्रह गरिन ।

सांसद पाठकले सामुदायिक वनबाट नेतृत्व विकास गरे ३ हजार जनाले स्थानिय सरकार र ३० जनाले संघ र प्रदेशमा निर्वाचन जित्नुले पनि समुहमा रहेका महिला, आदिबासी जनजातीको क्षमता विकासमा समेत महत्वपुर्ण भुमिका खेलेको बताइन ।

सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश कोषाध्यक्ष निर्मला न्यौपाने, मकवानपुर अध्यक्ष साधुराम चौलागाई लगायतकाले बोलेका थिए ।