हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताका लागि कसैसँग सम्झौता नगर्ने बताएका छन । उनले नेपाली कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ र २ ‘ख’ को सोमबार हेटौंडा–१९ बस्तीपुरमा भएको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल मात्र नभई कांग्रेसले सत्ताका लागि विचारसँग सम्झौता नगर्ने बताए । बरु सरकार छोड्नुपरे छोड्ने तर, कांग्रेसको लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै त्यसलाई स्थापित गरिनुपर्नेमा थापाको जोड थियो । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेको भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, चितवन क्षेत्र नम्बर १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवमल, मकवानपुर १ (क) का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर २(ख) का सभापति रन्जन कालाखेती, थाहा नगर सभापति प्रमोद जोशी, मनहरी ८ का सभापति भिमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।