हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारलाई पत्रकारले आलोचना र खबरदारी गर्नुपर्ने बताएका छन । प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा आइतबार हेटौँडामा कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार र सञ्चारमाध्यमले गलत कुरालाई गलत भन्नुपर्ने बताए ।
‘सरकारको कमजोरी भए सच्याउनुपर्छ, हामीले आलोचना पनि स्वीकार्नुपछ’,–मुख्यमन्त्रीले भने । कृष्ण सेन, रुद्र पाख्रिनको आस्था, बिचार र जीवनशैलीलाई पछ्याउनुपर्ने धारणा राख्दै सञ्चार क्षेत्रमा बनाइएको नीति कार्यान्वयन गर्ने क्रममा तलमाथि भएको उनले स्विकार्नु भयो । सञ्चार क्षेत्र सम्बन्धि नीति, कानून, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै कार्यान्वयन गरिने उनको भनाई छ ।
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले कृष्ण सेन र रुद्र पाख्रिनको सपना अझैं पनि पुरा नभएकाले त्यो सपना पुरा गर्ने अभियानमा सबै लाग्नुपर्ने बताए । कृष्ण सेनको साहित्यिक यात्राको स्मरण गर्दै मन्त्री श्रेष्ठले भूमिका बदलिएपनि लक्ष्य नबदलिएको स्पष्ट पारे ।
सहिद कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसको अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार समर्पण पनि गरिएको थियो । कार्यक्रममा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्टलाई, रुद्रसेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो । साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुवास बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत जनही नगद पाँच हजार रुपैयाँ पत्रकारहरू रञ्जिता डंगोल, रूपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो ।
प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय इन्चार्ज महेश्वर दाहालको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज बिजय गौतम, बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले मन्तव्य ब्यक्त गरे ।
साथै, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महसंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी लगायतले मन्तव्य ब्यक्त गरे ।












प्रतिक्रिया दिनुहोस्