हेटौँडा । लाेपाेन्मुख सालककाे उद्वार बिहीबार वनमा छाडिएको छ । रानी सामुदायिक  वन उपभोक्ता  समूहद्वारा निर्मित सालक केजमा उद्वार गरिएको सालक छाडिएको हो ।
जेठ १६ गते राती ८ बजे हेटौंडा- ६ खड्कुलेका स्थानीय  रामकृष्ण  राईले बाटाेमा हिडिरहेको समयमा सालक फेला पारि समूहका कार्यालय  सचिव भीमसेन पाैडेललाई  बुझाउनु भएको थियो । सालकलाई बिहीबार  हेटौंडा- ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहाल, वडा सदस्य  विजय पाैडेलकाे राेहवरमा सालक केजमा छाडिएको  हाे ।
उद्वार गरिएको सालक करिव ३ केजी रहेकाे थियो । किसानकाे साथीकाे रुपमा रहेकाे सालककाे संरक्षण  रानी सामुदायिक वन समूहले २०६२ सालदेखि गर्दै आएकाे समूहका अध्यक्ष  विष्णुपादुका  न्याैपानेले बताए ।
सालककाे संरक्षण  र ब्यवस्थापन र यसकाे प्रचार प्रसारकाे लागि समूहले चाैघडा बजार र पिस पार्कमा  सालककाे प्रतिमा निर्माण  गरेकाे छ भने समूहकाे बलक नं  ६ मा सालक केज समेत बनाएको  छ । समूहकाे वनक्षेत्र भित्र ३ दर्जन भन्दा बढी सालक रहेकाे समूहले जनाएकाे छ ।
राष्ट्रिय  निकुञ्ज  तथा वन्यजन्तु  संरक्षण  ऐन २०२९ अनुसार  सालक पक्रने सिकार गर्ने खपटाकाे व्यापार गर्ने आेसारपसार गर्नेलाई  १ लाखदेखि ५ लाख सम्म जरिवाना  वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय  हुने कानूनी ब्यवस्था छ ।