हेटौँडा । ६९ औँ प्रहरी दिवसको अवसरमा मङ्गलवार हेटौँडामा अमर प्रहरीको आश्रित परिवारलाई सम्मान गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले अमर प्रहरीको परिवारलाई सम्मान गरेको हो ।
कतव्र्य पालनाको क्रममा मृत्यु भएका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ५ चैनपुरका शिवन कुमार प्रजाको पत्नीलाई नगद ६० हजार, दोसल्ला र प्रशंसापत्र सहित सम्मानित गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय स्मारक गुठीबाट २५ हजार र प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट ३५ हजारगरी जम्मा ६० हजार आर्थिक सहायता हस्तान्तरण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले राष्ट्रवासी र संगठनप्रति अमर प्रहरी प्रजाले पुर्याउनु भएको योगदान, त्याग र कर्तव्यपरायणताको स्मरण गर्दै मरणोपरान्त अमर प्रहरी प्रजाको पत्नी समिता कुमारी प्रजालाई प्रशंसापत्र र नगद प्रदान गरिएकोे थियो ।
सोही अवसरमा साहदत प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारजनहरुलाई दोसल्ला ओढाई, सम्मान गरिएको थियो । भिमफेदी गाउँपालिका वडा नं.५ सुपिङका प्रहरी नायव निरीक्षक महेन्द्र राना, हेटौँडा उप–महानगरपालिका वडा नं.१५. निवासी प्रहरी हवल्दार दिल बहादुर सुनार, भीमफेदी–५ निवासी प्रहरी हवल्दार रामचन्द्र रुचाल, हेटौँडा उप–महानगरपालिका वडा नं.६ निवासी प्रहरी हवल्दार रविन्द्र न्यौपाने, हेटाँैडा उप–महानगरपालिका वडा नं.१४ मंयुरधाप निवासी प्रहरी हवल्दार गणेश थापा, हेटौँडा उपमहानगरपालिका वडा न १७ निवासी प्रहरी हवल्दार दयाराम श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका वडा नं ६ लाउरेनी चोक निवासी प्रहरी हवल्दार प्रेमैं बहादुर थिंङ, हेटौँडा उपमहानगरपालिका वडा न.२ सानोपोखरा निवासी प्रहरी जवान रघुनाथ ढकालको परिवारलाई प्रहरी नायव महानिरीक्षक शर्माले दोसल्ला ओढाई, सम्मान गरिएको हो ।
अमर प्रहरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले प्रहरीले समाजमा दिएको योगदानको चर्चा गरे । उनले देशभित्र आउने आपत विपत्तमा सधैं नेपाल प्रहरी अग्र पत्तिमा रहि देश र देशवासीको सेवामा लागिरहने बताए । जनउत्तरादायि रहने क्रममा प्रहरी सङठनले धेरैजनालाई गुमाउनुपरेको स्मरण गर्दै वीर प्रहरी प्रति सम्मान तथा श्रद्धासुमन व्यक्त गरे ।
अमर प्रहरी प्रति श्रद्धाञ्जली दिनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै अमर प्रहरी परिवार तथा पूर्व प्रहरी सङ्गठन बागमती प्रदेशका सचिव प्रल्हाद घिमिरेले अवकास पश्चात रचनात्मक कार्य गरिरहेको बताए । उनले सेवा अवधि समाप्त भएपछि सामाजिक काममा प्रहरीहरु सक्रिय भएको बताए ।
देशभर एकहजार ७८९ जना, बागमती प्रदेशमा १९९ जना र मकवानपुर जिल्लामा १० जना प्रहरीले ज्यान गुमाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरी निरीक्षक चुडाकुमारी खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।












प्रतिक्रिया दिनुहोस्