हेटौँडा । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त गरिएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन ।

आयोग अध्यक्षमा नियुक्त श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशकमा कार्यरत रहेका थिए ।

मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा सिफारिस समितिमा बागमती प्रदेश सभाका सभामुख र प्रदेश सभाका विपक्षी दलका नेता सदस्य रहने व्यवस्था रहेको छ ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश लोक सेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (२) बमोजिम नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका १ का श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जनाइएको छ ।

आयोगका नवनियुक्त अध्यक्षको शपथग्रहण कार्यक्रम सोमबार हुने जनाइएको छ । श्रेष्ठलाई आयोग अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेसँगै आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले पदबाट राजीनामा दिएका थिए ।

प्रदेश लोक सेवा आयोगको अध्यक्षमा आफूभन्दा कनिष्ठलाई नियुक्ति गरेकोमा असन्तुष्टि जनाउँदै ढकालले आयोगको सदस्यबाट शुक्रबार राजीनामा दिएका थिए ।

बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोग सदस्य ढकालले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शुक्रबार नै राजीनामा बुझाउनुभएको जनाएको छ ।

आयोग सदस्य ढकालले आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्षमा नियुक्ति गरेकोले सदस्य पदबाट राजीनामा दिएको जानकारी दिए।

उनले यसअघि नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएकालाई आयोगको अध्यक्षमा नियुक्ति गरिएकोमा अहिले सहसचिव तहका व्यक्तिलाई आयोग अध्यक्ष बनाएकोले राजीनामा दिएको बताए । आयोगको अध्यक्ष गत चैतबाट रिक्त रहेको थियो ।