हेटौँडा । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको अध्यक्ष महेश्वर श्रेष्ठ प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।  बागमती प्रदेश प्रमुखको कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आयोगका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

आयोगका अध्यक्ष श्रेष्ठले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै लोक सेवा आयोगको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन । शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा, मन्त्रीहरू, प्रदेशका प्रमुख सचिव, सचिवलगायतको उपस्थिति थियो ।

मुख्यमन्त्रीको अध्यक्षतामा गठित बागमती प्रदेश सभाका सभामुख र प्रदेश सभाका विपक्षी दलका नेता सदस्य रहेको सिफारिस समितिको सिफारिसमा आइतबार प्रदेश प्रमुख देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

आयोग अध्यक्षमा नवनियुक्त श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशक (सहसचिव) मा कार्यरत रहेका थिए ।