हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका–६ पाङ्ग्रेटारमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन ।

बिहीबार भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा हेटौँडाबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ज.०६७३ नं. को इभि भ्यान र भिमफेदीबाट हेटौँडा तर्फ आउँदै गरेको ना२ह ५१७२ नं. को अटो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा अटोमा सवार पाँच जना घाइते भएकोे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अटो चालक मकवानपुर भिमफेदी–६ सिमलटार बस्ने ४१ बर्षिया राज कुमार लामा, हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने २२ बर्षिया पार्वती ब्लोन, हेटौँडा–१ चौकीटोल बस्ने २४ बर्षिया अनिता स्याङ्बो, ४ बर्षिया बालिका आयान्सु स्याङ्बो, र ८ बर्षिया सुर्बिना गोले घाइते भएका हुन ।

उनीहरूको खुट्टा, हात, काध, मुख, दाँतमा चोट लागेको छ । घाईतेहरुको हेटौँडा अस्पताल र चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधनमा क्षति भएको छ भने इभिका चालक प्रहरीको नियन्त्रणमा राखिएको छ ।