हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चेपाङ जातिको महत्वपूर्ण चाड ‘न्वागी (छोनाम) पर्व, २०८२’ को अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहेका चेपाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको सुन्दर देश भएको बताएका छन्। उनले भनेका छन्, “यहाँका प्रत्येक जातजाति र समुदायको आ-आफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा रहेका छन्। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रको रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय सांस्कृतिक पहिचानको रुपमा चेपाङ समुदाय रहेको छ।”

बानियाँले शुभकामना सन्देशमा चामल, पिठो, निबुवा आदि फलफूलले भरिपूर्ण हुने पृथ्वीलाई भण्डारको रूपमा पूजा गर्ने र नयाँ फलेफूल तथा अन्न खानुअघि नै इष्टदेवलाई चढाउने धार्मिक विश्वासका साथ यो समुदायमा ‘न्वागी’ मनाइने गरिएको उल्लेख गरेका छन्।

बागमती प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायले यस पर्वलाई विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्यमान्यताले नयाँ पुस्तालाई जोडेको भन्दै मुख्यमन्त्री बानियाँले प्रशंसा गरेका छन् ।

उनले चेपाङ समुदायको उत्थान र विकासका लागि बागमती प्रदेश सरकारले सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । सबैको साथ र सहयोगमा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न सबै एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

चेपाङकाे न्वागीका अवसरमा बागमती प्रदेश सरकारले धादिङ, मकवानपुर र चितवनमा सार्वजनिक बिदासमेत दिएकाे छ ।