हेटाैँडा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा राजनीतिक दलहरूले निर्वाचन तयारी तीव्र पारेका छन् । निर्वाचनलाई लक्षित गर्दै दलहरू उम्मेदवार सिफारिसलगायत आन्तरिक प्रक्रियामा छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले मकवानपुरले जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि नौजनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटी बैठक र आइतबार बसेको जिल्ला कमिटी बैठकले उम्मेदवार सिफारिस गरेको हो ।
एमालेले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सातजनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश सांसद एकालाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा, पार्टी नेताहरू मदनकुमार दाहाल, पूर्वसांसद कृष्णप्रसाद दाहाल, पूर्वराष्ट्रिय सभा सदस्य रामचन्द्र राई र नारायणप्रसाद सापकोटा रहेका छन्।
यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ बाट एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेशकुमार बर्तौला र पार्टी नेता सुवासचन्द्र ठकुरीको नाम सिफारिस भएको छ । जिल्ला कमिटीले सिफारिस गरेका नामहरू प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णयअनुसार उम्मेदवार छनोट गरिने जनाएको छ।
यसअघि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ बाट विरोध खतिवडा र विजय गौतमसहित १३ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर–२ बाट विरोध खतिवडा, रामनारायण बिडारी, वीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलाको नाम सिफारिस गरेको जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट केन्द्रीय सदस्य दीपकबहादुर सिंहको एकल नाम सिफारिस गरेको छ । कांग्रेसले भने प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएका नेताहरूको नाम सार्वजनिक गरेको छैन ।












प्रतिक्रिया दिनुहोस्