हेटौँडा । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा निर्वाचन प्रहरीमा दुईहजार २६६ जनाले आवेदन दिएका छन् ।

निष्पक्ष, शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले अस्थायी प्रहरीको रूपमा निर्वाचन प्रहरी भर्ती खुला गरिएको अन्तिम दिन बिहीबार सम्म उत्साहजक रुपमा आवेदन प्राप्त भएको हो ।

मकवानपुरमा आसन्न निर्वाचनका लागि एकहजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्नाको माग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले बताए । मकवानपुर जिल्लामा सशस्त्र प्रहरीतर्फ १ सय ७९ पदका लागि आवेदन खुलाइएको थियो ।

युवा–युवती, पूर्व निर्वाचन प्रहरी तथा पूर्वसुरक्षाकर्मीको सहभागिता उल्लेख्य देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुस २५ गतेदेखि खुला गरिएको आवेदन माघ १ गतेसम्म दिने व्यवस्था गरिएको थियो ।