हेटाैँडा । मकवानपुरगढी गाउँपालिकाका नागरिकले अब गाउँमै आयुर्वेदिक स्वास्थ्य सेवा पाउने भएका छन्। गाउँपालिकाको वडा नं. २ शिखरकटेरीमा ‘नागरिक आरोग्य सेवा केन्द्र’ स्थापना भएसँगै माघ २ गतेबाट औपचारिक रूपमा सेवा प्रारम्भ भएको हो।
गाउँपालिकाको आयुर्वेद स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा कार्यालयको भूइँतलामा स्थापना गरिएको केन्द्रको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष स्याङ्तानले गाउँपालिकाले आधुनिक चिकित्सा पद्धति (एलोप्याथिक) सँगसँगै आयुर्वेदिक चिकित्सा पद्धतिलाई पनि विशेष जोड दिएको बताए। उनले हाम्रो मौलिक र परम्परागत उपचार पद्धतिको संरक्षण र विकासका लागि आगामी बजेट निर्माणमा वडा तहदेखि नै प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सेवा प्रदायक एवं वैद्य देवकी तिमल्सिनाले केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी गराएकी थिइन्। अब स्थानीय नागरिकले सामान्य स्वास्थ्य समस्याका लागि आयुर्वेदिक औषधि, परामर्श तथा उपचार सेवा गाउँमै प्राप्त गर्नेछन्।
वडा नं. २ का वडाध्यक्ष बखानसिंह पाख्रिनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा कार्यालय हेटौंडाका निमित्त प्रमुख अशोक कुमार झाको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवं वडा नं. १ का अध्यक्ष आइतसिं लो, वडा नं. ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, वडा नं. ७ का अध्यक्ष सूर्य बहादुर रुम्बा, गाउँ कार्यपालिका सदस्य पातलीमाया गोले लगायतको आतिथ्यता रहेको थियो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले सञ्चालन गरेको उक्त कार्यक्रममा गाउँपालिकाका प्रशासन तथा कृषि विकास शाखाका प्रमुखहरू, विभिन्न वडाका सदस्यहरू, वडा नं. १, २, ३, ४, ६ र ७ का स्वास्थ्य संस्था प्रमुखहरू, वडा सचिव तथा कर्मचारीहरू, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र स्थानीय सेवाग्राहीहरूको बाक्लो उपस्थिति रहेको थियो।


संजिव सुनार 









प्रतिक्रिया दिनुहोस्