हेटौँडा। हेटौँडामा बुधबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– ९ बस्ने १८ वर्षीया एकता वैद्य रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत गुम्बाचोकमा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.४४प ९३५४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा वैद्य घाइते भएकी थिइन् ।
यस्तै, दुर्घटनामा प्रदेश ३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकलचालक हेटौँडा– ४, कर्रा बस्ने १९ वर्षीय रोनिक कार्की घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
वैद्य मोटरसाइकलको पछाडि सवार थिइन्। दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटनापछि उनी सोही दिशामा नवलपरासीबाट सिमेन्ट बोकेर वीरगन्जतर्फ जाँदै गरेको ना.६ख ३१४५ नम्बरको ट्रकमा ठोक्किएकी थिइन्। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले वैद्यलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार अर्को मोटरसाइकलचालक चितवन इच्छाकामना गाउँपालिका–५, बदेलटार बस्ने २१ वर्षीय पुष्पलाल गुरुङ मध्यम घाइते भएका छन् । उनलाई पनि उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक तथा ट्रकचालक बाँकेको कोहलपुर नगरपालिका– १४ बस्ने ३३ वर्षीय बद्री गडरिया जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्