हेटौँडा । आम नागरिकलाई घरकाज, विकास निर्माण, कृषि औजार, विपद् तथा दाहसंस्कारका लागि आवश्यक काठ सस्तो मूल्यमा उपलब्ध गराउन मकवानपुरमा वन पैदावारको नयाँ दर कायम गरिएको छ । नयाँ दरअनुसार काठको मूल्य औसतमा प्रति क्यूफिट चार सय रुपियाँसम्म घटेको छ ।

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको भदौ ३० गतेको सचिवस्तरीय निर्णयअनुसार जिल्ला वन पैदावार आपूर्ति समिति मकवानपुरले काठ तथा दाउराको बिक्री वितरणका लागि नयाँ दर कायम गरेको हो । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत तथा जिल्ला वन पैदावार आपूर्ति समिति मकवानपुरका अध्यक्ष राकेशप्रसाद चन्द्रवंशीका अनुसार नयाँ दर आर्थिक वर्ष २०८३-८४ देखि लागू हुनेछ ।

उहाँका अनुसार आर्थिक वर्ष २०७९-८० देखि हालसम्म चिरान काठको मूल्य प्रति क्यूफिट तीन हजार ७०९ रुपियाँ २७ पैसा कायम थियो । नयाँ दरअनुसार चार फिटसम्म लम्बाइ भएको काठको मूल्य प्रति क्यूफिट तीन हजार १५२ रुपियाँ तीन पैसा र चार फिटभन्दा बढी लम्बाइ भएको काठको मूल्य तीन हजार ४५२ रुपियाँ तीन पैसा कायम गरिएको छ ।

नयाँ दरबाट विशेष गरी सहरी क्षेत्रमा घरकाज तथा सानातिना विकास निर्माणका काम गर्ने नागरिक र दैवी प्रकोपमा परेकालाई सहयोग पुग्ने अपेक्षा गरिएको डिभिजनल वन अधिकृत चन्द्रवंशीले बताउनुभयो । उहाँका अनुसार आम नागरिकलाई सहज र कम मूल्यमा वन पैदावार उपलब्ध गराउने उद्देश्यले नयाँ दर निर्धारण गरिएको हो । जिल्ला वन पैदावार आपूर्ति समितिले हेटौँडाको रातोमाटे डिपोबाट काठ तथा दाउरा बिक्री वितरण गर्दै आएको छ । डिपोमा हाल गोलिया काठ २० हजार ३४९ दशमलव ९२ क्यूफिट, चिरान काठ एक हजार ४३९ दशमलव ५८ क्यूफिट र दाउरा ३० चट्टालगायतका वन पैदावार बिक्रीका लागि मौज्दात रहेको समितिले जनाएको छ ।