हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६, चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा अध्यक्ष ढुङ्गानाले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति सदस्य कुशराज अधिकारीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट सेयर सदस्य तथा सञ्चारकर्मीलाई पुरस्कृत एवम् सम्मान गरिएको थियो ।

उत्कृष्ट बचतकर्तातर्फ जीवन सापकोटा र गङ्गादेवी श्रेष्ठ, असल कारोबारतर्फ मिनमाया रुम्बा तथा ज्येष्ठ सेयर सदस्यतर्फ साधुराम चौलागाईं पुरस्कृत भए । यसैगरी उत्कृष्ट बाल बचतकर्तातर्फ आचल तितुङ, उत्कृष्ट कृषकतर्फ गोमा दुलाल र जोडी सदस्यहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

संस्थाका विभिन्न गतिविधिको प्रचारप्रसार गरी संस्थाको लोकप्रियता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सञ्चारकर्मी भावना रिजाललाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

साधारणसभामा हेटौँडा–६ का वडा सदस्य विजय पौडेल, संस्थापक अध्यक्ष राघव न्यौपाने, पूर्वअध्यक्ष राजेन्द्रप्रसाद चौलागाईं, निवर्तमान अध्यक्ष भरत सापकोटा, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वंशगोपाल दुग्ध उत्पादक सहकारीका अध्यक्ष रामहरि चौलागाईं, जनकल्याण सहकारीका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, वंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष विश्वराज राई, सुनगाभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष राजकुमार फुयाल, प्रहरी चौकी चौघडाका इन्चार्ज सूर्यबहादुर श्रेष्ठ र गुप्तेश्वरी टोल विकास संस्थाका अध्यक्ष नानीमाया रुम्बालगायतको आतिथ्यता रहेको थियो ।

संस्थाले बचत तथा ऋण कारोबारका साथै सेयर सदस्यलाई लक्षित गरी विभिन्न प्रकारका कृषि यान्त्रिकीकरण, तालिम तथा गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका व्यवस्थापक सरिता खतिवडाले जानकारी दिइन् ।

भीमसेन पौडेल
थप जानकारी