हेटौँडा । मोटरसाइकलको इन्जिन खोलेर त्यसका पार्टपुर्जा मिलाउँदै हुनुहुन्छ, हातले छामेरै कुन सामान कहाँ जोड्ने भन्ने पत्ता लगाउनुहुन्छ, आवाज सुनेर समस्या पहिचान गर्नुहुन्छ र बिग्रिएको मोटरसाइकललाई फेरि चल्ने बनाउनुहुन्छ । उहाँको आँखाले संसार देख्दैन, तर हातका औँलाले मेसिनका हरेक पाटपुर्जा चिन्छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, बसामाडीका ५६ वर्षीय सुदर्शन ढकाल दृष्टिविहीन हुनुहुन्छ । तर, उहाँको आत्मविश्वास र सीपले जीवनलाई अँध्यारो हुन दिएको छैन् ।
ढकालको जीवनमा २५ वर्षको उमेरमा अचानक अँध्यारो छायो । कामको सिलसिलामा हेटौँडाबाट धरान जाँदै गर्दा कोसी पुलनजिकै सडकको लचकमा अगाडि गुडिरहेको कारले अचानक ब्रेक लगायो । कारको पछाडिको रातो बत्ती बलेपछि उहाँको आँखाले संसारको अन्तिम उज्यालो देख्यो । त्यसपछि आँखाले केही देखेनन् । मोटरसाइकल अनियन्त्रित भएपछि किनारामा रोकेर साथीहरूको सहयोगमा गन्तव्यतर्फ लाग्नुभयो । त्यो दिनदेखि उहाँको आँखाको ज्योति कहिल्यै फर्किएन ।
“आँखाको नसा सुकेको रहेछ । डा. सन्दुक रुइतलाई देखाउँदा पनि उपचार सम्भव छैन भन्ने जानकारी पाएँ,” उहाँले भावुक हुँदै सुनाउनुभयो । उपचारका लागि विभिन्न अस्पताल, आँखा शिविरदेखि धामीझाँक्रीसम्म पुग्नुभयो । तर, दृष्टि फर्काउने प्रयास सफल भएन ।
दृष्टि गुमे पनि उहाँले हिम्मत गुमाउनुभएन । कक्षा ९ मा पढ्दै गर्दा पढाइमा असफल भएपछि विद्यालय छाड्नुभएका ढकालले सुरुमा गाडी मर्मतको सीप सिक्न खोज्नुभयो । तर, शारीरिक रूपमा कठिन काम भएकाले निरन्तरता दिन सक्नुभएन । त्यसपछि मोटरसाइकल मर्मतको काम सिक्नुभयो । उहाँले २०४२ सालदेखि मोटरसाइकल मर्मतको सीप सिक्नु भएको हो । यही सीप उहाँको जीवन धान्ने आधार बन्यो ।
२०६२ सालदेखि बसामाडीमा आफ्नै घरमा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आउनुभएका उहाँले दृष्टि गुमेपछि पनि पेसा छाड्नुभएन । सुरुका दिनमा ग्राहकले विश्वास नगर्ने, मर्मत गर्दा बिगारेको आरोप लगाउने र विवाद गर्ने अवस्था पनि आयो । तर, उहाँको मेहनत, धैर्य र इमानदारीले विस्तारै ग्राहकको विश्वास जित्दै गयो । अहिले उहाँलाई धेरैले ‘अँध्यारो मेकानिक’ भनेर खोज्दै आउँछन् ।
“आफ्नो हातमा सीप छ र मेहनत गर्ने हो भने केही असम्भव छैन । जीवनमा हार मान्नु हुँदैन,” उहाँ भन्नुहुन्छ, “केही गर्ने हुटहुटी र अठोट भयो भने अप्ठ्यारा परिस्थितिलाई पनि पार गर्न सकिन्छ ।” ढकालको संघर्षमा उहाँकी श्रीमती कमला अर्याल ढकालको साथ उत्तिकै छ । श्रीमान् दृष्टिविहीन भएपछि दुई सन्तानसहित परिवारको जिम्मेवारी सम्हाल्नुभएकी कमलाले घरेलु तथा साना उद्योग कार्यालयबाट मोटरसाइकल मर्मतसम्बन्धी तालिम लिनुभयो । श्रीमानलाई काममा सघाउन थाल्नुभयो ।
“छोरा चार वर्षको हुँदा श्रीमानले आँखा देख्न छाड्नुभयो, दुई सन्तानको जिम्मेवारी थियो । श्रीमानलाई साथ र हिम्मत दिनुपर्छ भनेर आफैँले सीप सिकेर काममा सहयोग गरेँ,” कमलाले भन्नुभयो । उहाँहरूका छोरा राजीवले पनि वर्कसपमा सहयोग गर्दै आउनुभएको छ । कर्मकाण्डमा रुचि राख्ने राजीवले आफ्नो पेसासँगै बुबाको काममा समय दिनुहुन्छ । छोरी भने हेटौँडा बजारमा फेन्सी पसल सञ्चालन गर्नुहुन्छ ।
ढकाल मकवानपुर जिल्लामा भएका मोटरसाइकल मेकानिक्स मध्य जेयष्ठ मेकानिक्स पनि हुनुहुन्छ । आफ्नो सीप र मेहनतबाट परिवार धान्दै आउनुभएका ढकालले अहिलेसम्म स्थानीय तह तथा अपाङ्गतासम्बन्धी सङ्घसंस्थाबाट सहयोग पाउनुभएको छैन । विभिन्न संस्थाले सहयोगको आश्वासन दिए पनि व्यवहारमा सहयोग नपाएको उहाँको गुनासो छ । हेटौँडा उपमहानगरपालिकाका उपनिर्देशक डा. भीमप्रसाद तिमल्सिनाले आवश्यक कागजी प्रक्रिया पूरा गरी निर्णयपछि ढकाललाई सहयोग उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो । आँखाले संसार देख्न नसके पनि सीपले आफ्नो बाटो पहिल्याउन सकिन्छ भन्ने आत्मविश्वासका कारण ढकाल अहिले समाजमा उदाहरण पात्र बन्नु भएको छ ।


















प्रतिक्रिया दिनुहोस्