हेटौंडा । तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बसेका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस अर्थात् नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन ।
आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित भएका हुन । उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गरे । ‘पार्टीमा उचित र सम्मानित भूमिका दिइनेछ,’ नेपालले भने ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखापाखा र अन्याय गरिनेछैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो ।
पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए । उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताए ।
को हुन् मधु अधिकारी ?
२०२२ सालमा हेटौँडामै जन्मेका अधिकारी २०४७ सालमा बहुदल स्थापनापछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला समितिको संस्थापक हुन । उनले हेटौँडा नगर अध्यक्ष, जिल्ला सचिव, उपसभापति, सभापति, बागमती प्रदेश उपाध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्यके भूमिकामा कार्य गरिसकेका छन । वडाध्यक्ष हुँदै हेटौँडाको मेयर पनि भएका अधिकारीले सन १९८० मै सिंगापुरबाट ब्लाक बेल्ट लिएका थिए ।
पाँचवटा राष्ट्रिय खेलमा पनि सहभागी अधिकारीले पार्टीको मुखपत्र हलो मासिकको सम्पादक भएर काम गरेका छन भने मकवानपुरको ५० को दशकमा पत्रकारिता पनि गरे । उनले कोसेली साप्ताहिक र मकवानपुर सन्देश पत्रिका पनि सम्पादन तथा प्रकाशन गरेका थिए ।
यस्तै, राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारी पनि राप्रपा परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन ।












प्रतिक्रिया दिनुहोस्